काठमाडौं । नेपाली काँग्रेसका महामन्त्री गगनकुमार थापाले आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनमा सत्तारुढ गठबन्धन विजयी हुने दावी गरेका छन् ।
काठमाडौं क्षेत्र नम्बर ४ का प्रतिनिधिसभा सदस्यको उम्मेदवार समेत रहेका महामन्त्री थापाले सत्तारुढ गठबन्धनले प्रतिनिधिसभा र प्रदेशसभा दुवैमा विजयी भएर सरकार बनाउने बताए ।
बुधबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उनले विगतको पाँच वर्ष खेर गएको उल्लेख गर्दै आफूहरुले जितेपछि भने त्यो समयलाई खेर जान नदिने प्रतिवद्धता व्यक्त गरे ।
महामन्त्री थापाले निराश र आक्रोशित जनताको मत लिएर सरकार बनेपछि सत्तारुढ गठबन्धनले त्यसलाई खेर जान नदिने गरी काम गर्नुपर्ने पनि स्पष्ट पारे । जनमतको कदर हुने गरी काम गर्न सकिएन भने जनताले विरोध गर्ने उनको भनाइ थियो ।
महामन्त्री थापाले आगामी निर्वाचनपछि आफूले सरकारको नेतृत्व गर्न चाहेको पनि दोहो-याए । त्यसका लागि पार्टीभित्रका साथीहरुले आफूलाई साथ दिनुपर्ने उनको भनाइ थियो ।