काठमाडौं । तिहारको पाँचौँ दिन आज भाइटीका । दिदी–बहिनीले आफ्ना दाजुभाइलाई श्रद्धा, आस्था र निष्ठाका साथ दीर्घायु, आरोग्य र ऐश्वर्य प्राप्तिको कामना गर्दै परम्पराअनुसार पञ्चरंगी वा सप्तरंगी टीका लगाएर मनाइँदैछ । आजको दिनलाई यम द्वितीया पनि भनिन्छ ।
दिदीबहिनीले दाजुभाइलाई टीका लगाएपछि दाजुभाइले पनि दिदीबहिनीलाई टीका लगाउने गरिन्छ । दिदीबहिनीलाई पूजा गर्नाले अखण्ड सौभाग्य र ऐश्वर्य प्राप्त हुने शास्त्रीय मान्यता रहेको छ ।
आज भाइटीकाको साइत बिहान ११:३७ मिनेटमा रहेको छ । आजको दिन टीका लगाइदिने ब्यक्ति पूर्व र लगाउने व्यक्ति पश्चिम फर्केर टीका लगाउँदा उत्तम हुनेछ ।
सर्वसाधारणलाई आज दिनभर भाइटीका लगाउन कुनै समस्या नरहेको नेपाल पञ्चांग निर्णायक विकास समितिले जनाएको छ । राज्य सञ्चालकले भने साइतमै टीका लगाउनुपर्ने समितिले जनाएको छ ।
टीका लगाइदिएपछि दिदीबहिनीले दाजुभाइलाई ओखर, कटुस, मरमसला एवं सेलरोटीलगायतका खानेकुरा दिने र दाजुभाइले पनि दिदीबहिनीलाई गच्छेअनुसार सौभाग्यका प्रतीक कपडा र दक्षिणा दिई सम्मान प्रकट गर्ने धार्मिक एवं सामाजिक परम्परा रहेको छ ।