भारतले लियो बालक मृत्युको जिम्मेवारी

राष्ट्रपाटी न्युज

कार्तिक १२, २०७९

काठमाडौँ । दार्चुलामा बालक मृत्युको जिम्मेवारी भारतीय पक्षले लिएको छ ।

शुक्रबार जिल्लाको व्यास गाउँपालिका–२ मा भारतीय पक्षले महाकाली नदीपारि सडक निर्माण गर्ने बेला एक बालकको ज्यान गएको थियो । भारतले तावाघाट-लिपुलेक सडक चौडा गर्ने क्रममा विस्फोट गराउँदा व्यास गाउँपालिका २ दुम्लिङका १२ वर्षीय पवन महराको मृत्यु भएको थियो ।

यस्तै १४ वर्षीया सरिना महरा घाइते भएकी थिइन् । अहिले उनको जिल्ला अस्पतालमा उपचार भइरहेको बताइएको छ । सोही घटनामा भारतीय सडक निर्माण कम्पनीले आफ्नो गल्ती भएको स्वीकार गरेको व्यास गाउँपालिकाका अध्यक्ष मंगलसिंह धामीले जानकारी दिए ।

अध्यक्ष धामीका अनुसार भारतीय कम्पनीले गल्ती स्वीकार गर्दै परिवारका बालबच्चालाई कक्षा १२ सम्म पढाउने र परिवारको एकजनालाई कम्पनीमा रोजगारी दिने प्रारम्भिक सहमति भएको हो । तर, निजी कम्पनी भएकाले आफूहरुलाई रोजगारी भन्दा पनि उचित क्षतिपूर्ति दिनुपर्ने परिवारको माग छ ।

गर्ग एण्ड गर्ग कम्पनीले सडक निर्माणका लागि जिलेटिन बिस्फोट गर्दा उछिट्टिएको ढुंगाले महराको मृत्यु भएको थियो । घटनापछि शनिबार पीडित परिवारलाई लिएर दार्चुलाका जनप्रतिनिधिको टोली छलफलका लागि भारतको धार्चुला गएको थियो ।


Published :कार्तिक १२, २०७९


Copyright : © 2020-2025 All right reserved

Developed by: Abritti Media