
काठमाडौँ । काभ्रेमा बोलेरो दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ भने ५ जना घाइते भएका छन् ।
काभ्रेको विकट खानीखोला गाउँपालिका–१ स्थित गैरीभान्ज्याङमा खानीखोलाबाट बनेपातर्फ दशैंका लागि खसी लिएर आउँदै गरेको बा ५ च ४११७ नम्बरको बोलेरो दुर्घटना भएको हो ।
जिल्ला प्रहरी कार्यालय काभ्रेका अनुसार दुर्घटनामा परी खानीखोला–४ स्थित् डाँडागाउँका ज्ञानबहादुर जिम्बाका २१ वर्षीय छोरा दिपेश जिम्बाको मृत्यु भएको छ । प्रहरीका अनुसार मृतक जिम्बाको शव बनेपास्थित शिरमेमोरियल अस्पतालमा राखिएको छ ।
त्यस्तै घाईते ५ जनालाई उपचारका लागि अस्पताल लगिएको छ । जसमा शिरमेमोरियलमा छिरिङ जिम्बा र रुपेश स्याङ्तान रहेका छन् भने धुलिखेल अस्पतालमा मिलन लोप्चन, बलबहादुर बल र पुतलीमाया बल रहेका छन् ।
घाइतेमध्ये पुतलीमायाको अवस्था गम्भीर रहेको अस्पतालले जनाएको छ । बोलेरोमा १० सवार रहेका थिए । बोलेरो शनिबार विहान अन्दाजी साढे २ बजेतिर दुर्घटना भएको अनुमान गरिएको छ । बोलेरो गाडी सडकबाट करिब ३० मिटर तल खसेको प्रहरीले जनाएको छ । डिएसपी न्यौपानेले बोलेरो चालक र सहचालक फरार रहेकोले उनीहरूको खोजी कार्य भइरहेको बताए ।