देउवाको डडेल्धुरा यात्रा स्थगित गर्न आयोगको आदेश

राष्ट्रपाटी न्युज

कार्तिक १६, २०७९

काठमाडौं । निर्वाचन आयोगले प्रधानमन्त्री शेरबहादुर देउवाको डडेल्धुरा यात्रा स्थगित गर्न आदेश दिएको छ ।

प्रधानमन्त्री देउवा सरकारी खर्चमा निर्वाचन प्रचारप्रसारका लागि डडेल्धुरा जाने तयारीमा थिए । त्यसक्रममा प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले अनुमतिका लागि निर्वाचन आयोगमा पत्र पठाएको थियो । उक्त पत्रको सम्बोधन गर्दै निर्वाचन आयोगले सरकारी खर्चमा प्रचारप्रसारका लागि यात्रा नगर्न/नगराउन निर्देशन दिने निर्णय गरेको हो ।

आयोगले यसअघि प्रधानमन्त्री र मन्त्रीहरूलाई आफू उम्मेदवार भएको क्षेत्रबाहेक अन्यत्र प्रचारमा जान नदिने भनी आचारसंहितामा व्यवस्था गरेको थियो ।

चौतर्फी दबाबपछि सरकारी स्रोतसाधन प्रयोग नगर्ने गरी आयोगको अनुमतिबाट मात्रै जान पाउने व्यवस्था परिमार्जन गरेको हो । तर, सरकारी सवारी साधनबाटै जान खोजेपछि प्रधानमन्त्रीको यात्रामा रोक लगाएको स्रातले बतायो ।


Published :कार्तिक १६, २०७९


Copyright : © 2020-2025 All right reserved

Developed by: Abritti Media