
काठमाडौँ । गृहमन्त्री बालकृष्ण खाँणले निर्वाचन बिथोल्ने अधिकार कसैलाई नभएको बताएका छन् ।
बुधबार बुटवलमा आयोजित कार्यक्रममा गृहमन्त्री खाँणले असन्तुष्टि जाहेर गर्ने अधिकार सबै नागरिक र दललाई भए पनि निर्वाचन बिथोल्ने अधिकार कसैलाई नभएको बताएका हुन् ।
वर्तमान व्यवस्थाप्रति केही असन्तुष्टि जाहेर गर्दै मूलधारको राजनीतिभन्दा बाहिर रहेका दललाई पनि राष्ट्रिय राजनीतिको मूलधारमा ल्याउन सरकारले पहल गरिरहेको उनले बताए । सबैको साझा प्रयत्नमा आगामी निर्वाचन शान्तिपूर्ण रुपमा सम्पन्न हुने उनको भनाइ छ ।
गृहमन्त्री खाँणले स्थानीय तहको निर्वाचन सम्पन्न गर्न सबैको सहयोग रहेकाले आगामी निर्वाचन पनि सबैको सहयोगमा शान्तिपूर्ण हुने दावी गरे। उनले नागरिकको जीवन रक्षा गर्नु सरकारको पहिलो दायित्व भएको जनाउँदै नागरिकको सुरक्षा र सम्पत्तिको रक्षाका लागि सरकार सधैं प्रतिबद्ध रहेको बताए ।