बुटवल । एमालेका उपाध्यक्ष तथा पूर्वअर्थमन्त्री विष्णु पौडेलले निर्वाचनपछि एमाले नेतृत्वमा बन्ने सरकारले भूमिहीन तथा सुकुम्बासीलाई जग्गाधनी पुर्जा वितरण गर्ने बताएका छन् ।
एमाले नेतृत्वको अघिल्लो सरकारले सुकुम्बासी समस्या समाधानको काम अन्तिम चरणमा पुर्याए पनि अदालतले रोकेको भन्दै निर्वाचनपछि उच्च प्राथमिकताका साथ काम गर्ने उनले जिकिर गरे ।
एमाले बुटवल-६ को शाखा कमिटी भेलालाई बिहीवार सम्बोधन गर्दै पौडेलले एमाले नेतृत्वको सरकारले मात्र सुकुम्बासीलाई जग्गाधनी बनाउने दाबी गरेका छन् ।
रुपन्देही-२ का प्रतिनिधिसभा सदस्य पदका उम्मेदवार पौडेलले जिल्लामा भौतिकसँगै मानवीय विकास जनताको चाहना भएको भन्दै त्यहीअनुसार काम अगाडि बढाउने बताए । भौतिक र मानवीय विकासलाई सँगसँगै हिँडाएर रुपन्देहीलाई अब्बल जिल्ला बनाउने पौडेलको भनाइ छ ।