उत्तर कोरियाद्वारा अन्तरमहादेशीय ब्यालेस्टिक मिसाइल प्रहार

राष्ट्रपाटी न्युज

कार्तिक १७, २०७९

काठमाडौँ । उत्तर कोरियाले अन्तरमहादेशीय ब्यालेस्टिक मिसाइल(आइसीबीएम) प्रहार गरेको दक्षिण कोरियाली अधिकारीहरूले बताएका छन् ।

कम्तीमा एउटा लामो दूरीको र दुई वटा छोटो दूरीको ब्यालेस्टिक क्षेप्यास्त्र प्रहार गरेको दक्षिण कोरियाका जोइन्ट चिफ्स अफ स्टाफले बताएका हुन् ।

योसहित प्योङयाङले यस वर्ष सात वटा आइसीबीएम प्रक्षेपण गरेको छ । बुधबार दुबै कोरियाले एकअर्कालाई लक्षित गरेर मिसाइल प्रक्षेपण गरेका थिए ।

जापानका प्रधानमन्त्री फुमिओ किसिदाले पनि यो एउटा अन्तरमहादेशीय बलिस्टिक क्षेप्यास्त्र हुनसक्ने बताएका छन् ।

बुधबार प्योङ्याङले एकैदिनमा सबैभन्दा धेरै क्षेप्यास्त्रहरू प्रहार गरेपछि यस्तो घटनाक्रम देखा परेको हो।

प्योङ्याङको एउटा ब्यालेस्टिक क्षेप्यास्त्रले बुधबार लिमिट लाइन भनिने दुई कोरियाबीचको एउटा विवादित जलसीमा पार गरेको थियो । बुधवार एउटा क्षेप्यास्त्र दक्षिण कोरियाको जल क्षेत्रमा खसेको थियो। सोलले आफ्ना तीनवटा क्षेप्यास्त्र प्रहार गरेर त्यसको जबाफ दिएको छ ।

अमेरिका र दक्षिण कोरियाले आफ्ना अहिलेसम्मकै ठूलो संयुक्त भ्यास गरिरहँदा यी घटना भएका हुन्। उक्त अभ्यासलाई प्योङ्याङले आलोचना गर्दै ‘आक्रामक र उक्साहटपूर्ण’ भनेको छ । (बीबीसी)


Published :कार्तिक १७, २०७९


Copyright : © 2020-2025 All right reserved

Developed by: Abritti Media