बुढाबुढी, केटाकेटी सबैलाई एमाले नै चाहिएको छः अध्यक्ष ओली

राष्ट्रपाटी न्युज

१८ कार्तिक २०७९

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी ओलीले प्रधानमन्त्री शेरबहादुर देउवाले देश र जनताका लागि कुनै काम नगरेको आरोप लगाएका छन् ।

शुक्रबार बैतडीको पाटनमा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै एमाले अध्यक्ष ओलीले कोही कोही रिसाउलान् भनेर प्रधानमन्त्री देउवाले देश र जनताप्रति उत्तरदायी भएर काम गर्न नसकेको आरोप लगाए ।

अध्यक्ष ओलीले आफू मेचीबगरमा जन्मेको मान्छेले झुलाघाटको पुलको दयनीय अवस्था देखेको, तर पाँचचोटि प्रधानमन्त्री भएर पनि देउवाले त्यो नदेखेको बताए ।

उनले आफ्नो सरकार बनेपछि झुलाघाटमा पक्की पुल बन्ने बताए । त्यसको जिम्मा एमाले र आफूले लिने उनले बताए । उनले आफूले दार्चुलाको खलंगामा आयोजित आमसभामा प्रतिनिधिसभाका उम्मेदवार कांग्रेस नेता दिलेन्द्रप्रसाद बडूलाई जिल्ला होइन, काठमाडौंमै बस्न सल्लाह दिएको समेत बताए ।

ओलीले बैतडीमा पहिले पनि आफू आएको भन्दै विभिन्न विकासका आश्वासन समेत दिए । उनले आफ्नो तीन वर्षे सरकारको पालामा देशमा ठूल्ठूलो विकास गरेको दाबी गरे । उनले विकास गर्न पनि एमाले नै चाहिने बताउँदै भने, ‘यो देशमा विकास हुन एमाले नै चाहिन्छ । हुलाकी मार्ग हाम्रै सरकारको पालामा बन्यो । देशमा पहिले राति विमान उड्दैनथ्यो, त्यो एमाले सरकारकै पालामा सम्भव भयो । बुढाबुढी, केटाकेटी सबैलाई एमाले नै चाहिन्छ ।’


Published :१८ कार्तिक २०७९


Copyright : © 2020-2025 All right reserved

Developed by: Abritti Media