
काठमाडौं । निर्वाचन आयोगले काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र शाह (बालेन) लाई स्पष्टीकरण सोधेको छ ।
आयोगले हाम्रो नेपाली पार्टीका विभिन्न निर्वाचन क्षेत्रका उम्मेदवारहरूले ‘जय लौरो’ नामक फेसबुक पेज समेतबाट प्रमुख शाहको समर्थन रहेको भनी गरेको प्रचारप्रसारबारे स्पष्टीकरण सोधेको हो।
देशको राजधानी सहर समेत रहेको महानगरपालिकाको नगर प्रमुखमा स्वतन्त्र उम्मेदवारका रूपमा निर्वाचित भई कार्यभार सम्हालेको अवस्थामा उक्त दलसँग कुनै आवद्धता नै रहे जस्तो गरी शाहको तस्बिर र नाम निरन्तर प्रयोग भइरहेका विषयमा आयोगले ध्यानाकर्षणसहित पत्र पठाएको हो ।
आयोगको स्पष्टीकरणमा भनिएको छ, ‘उल्लेखित सन्दर्भमा हाम्रो नेपाली पार्टीसँग यहाँको कुनै कानूनी सम्बन्ध रहेको भन्ने आयोगमा रहेको उक्त दलको अभिलेखबाट नदेखिएको अवस्थामा सोही तथ्यमा विश्वस्त हुँदै पत्र प्राप्त भएको दुई दिनभित्र जवाफ उपलब्ध गराइदिन अनुरोध छ।’
आयोगले शाहलाई इन्जिनियर अनन्तराज घिमिरे अध्यक्ष रहेको हाम्रो नेपाली पार्टीसँग तपाईंको कुनै आवद्धता छ, छैन?, हाम्रो नेपाली पार्टीसँग कुनै दलगत आवद्धता छैन भने उक्त दलले तस्बिर र नाम प्रयोग गरी आफ्नो दल र उम्मेदवारहरूको मत निरन्तर मागिरहेको देखिएकोले सो कार्य गर्न कुनै व्यक्त वा अव्यक्त सहमति छ, छैन ? भनेर स्पष्टीकरण सोधेको छ ।