जलवायुसम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलन आजदेखि

राष्ट्रपाटी न्युज

२० कार्तिक २०७९

काठमाडौँ । जलवायुसम्बन्धी अन्तर्राष्ट्रीय सम्मेलन (कोप-२७ सम्मेलन) आइतबार इजिप्टमा सुरु हुँदै छ । सार्म ऐल शेख शहरमा हुन लागेको सम्मेलन पक्ष राष्ट्रहरूले यस अवसरमा उठान गर्ने जलवायु परिवर्तनको विश्वव्यापी चुनौतीलाई प्रभावकारी रूपमा सामना गर्ने विषयमा केन्द्रित रहने संयुक्त राष्ट्रसंघीय वातावरण कार्यक्रमले जनाएको छ ।

इजिप्टले विश्वव्यापी जलवायु परिवर्तनका चुनौतीको स्पष्ट मान्यता र यसको विश्वव्यापी खतरालाई सम्बोधन गर्ने माध्यमका रूपमा बहुपक्षीय, सामूहिक र ठोस कार्यको आह्वान गर्दै सम्मेलनको अध्यक्षता गर्नेछ । मंसिर २ गतेसम्म चल्ने सम्मेलनमा जलवायु परिवर्तनले निम्त्याएको विश्वव्यापी नोक्सानीका विषय मुख्य कार्यसूचीमा छ ।

गत वर्ष कोप–२६ सम्मेलनमा स्कटल्याण्डले हानि र नोक्सानी सहयोगार्थ १० लाख अमेरिकी डलरभन्दा बढी रकम दिने र यहीवर्ष डेनमार्कले एक करोड ३० लाख अमेरिकी डलर योगदान गर्ने घोषणा गरेको छ ।

जलवायु परिवर्तनको उद्घोष भएको सन् १९९२ को रियो द जेनेरियो हुँदै २०१५ को पेरिस सम्झौता र अघिल्लो वर्ष कोप–२६ सम्म पुग्दा भएका विविध विश्वव्यापी सहमति र तिनको भविष्यको रणनीतिक बाटो तय गर्न यस वर्षको सम्मेलन पथप्रदर्शक हुने बताइएको छ ।

विश्वव्यापी तापक्रम १.५ डिग्री सेल्सियसभन्दा माथि पुगेको घोषणा भइरहँदा अबका दिनमा कसरी अघि बढ्ने भन्ने साझा अवधारणा बनाउन पनि सम्मेलन सहायक हुने विश्वास लिइएको संयुक्त राष्ट्रसंघीय वातावरण कार्यक्रमले जनाएको छ ।

सम्मेलनमा नेपालको नेतृत्व महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री उमा रेग्मीले गर्नेछिन् । प्रतिनिधि मण्डलमा जलवायु परिवर्तन हेर्ने प्रधानमन्त्रीका सल्लाहकार माधव कार्की, योजना आयोगमा वन-वातावरण हेर्ने सदस्य सलोनी प्रधान सिंह, वन सचिव पेमनारायण कंडेल, प्रधानमन्त्री कार्यालयका सचिलगायत सहभागी हुने कार्यक्रम छ ।


Published :२० कार्तिक २०७९


Copyright : © 2020-2024 All right reserved

Developed by: Abritti Media