
काठमाडौं । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपा, ऋषि कट्टेल नेतृत्वको नेकपा र विश्वभक्त दुलाल ‘आहुती’ नेतृत्वको वैज्ञानिक समाजवादी कम्युनिष्ट पार्टीले आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन बहिष्कार गर्ने घोषणा गरेका छन् ।
आइतबार काठमाडौंमा संयुक्त पत्रकार सम्मेलन गरी तीन वटा साना बामपन्थी राजनीतिक दलहरुले चुनाव बहिष्कार गर्ने घोषणा गरेका हुन ।
बहिष्कार कार्यक्रममा लागि कात्तिक २६ गतेदेखि ३० गतेसम्म देशव्यापी रुपमा विरोध प्रर्दशन र कोणसभा समेत आयोजना गर्न लागिएको नेकपाका नेता प्रकाण्डले बताए । उनले दलालहरुले जित्ने चुनावले जनताको अधिकार सुनिश्चित नहुने भएकाले त्यसको विरोधमा आफूहरुले चुनाव बहिष्कारको नीति लिनुपरेको बताए ।
नेकपाका अध्यक्ष ऋषि कट्टेलले नेपालमा संसदवादको अन्त्य गर्नका लागि आफूहरुले चुनाव बहिष्कार गर्ने निर्णय गरेको बताए । उनले नेपाली क्रान्तिलाई सफल बनाउन पनि चुनाव बहिष्कारको कार्यक्रमले सहयोग पु-याउने जिकिर गरे ।
वैज्ञानिक समाजवादी पार्टी, नेपालले चुनावको नौटंकी देशको हितमा नरहेकाले त्यसको बहिष्कार गर्ने कार्यक्रम घोषणा गर्नु परेको बताएको छ ।
पार्टीका महासचिव विश्वभक्त दुलाल ‘आहूति’ले क्रान्तिकारी शक्तिहरुबीचको एकताबाट मात्रै नेपाली जनताको अधिकारलाई सुनिश्चित गर्न सकिने भएकाले पनि आफूहरुले चुनाव बहिष्कारको कार्यक्रमलाई संयुक्त रुपमा अघि बढाएको जिकिर गरे ।
तीनवटै पार्टीले चुनावको भण्डाफोर गर्ने भन्दै काठमाडौंमा कात्तिक २४ गते, बुटवल र इटहरीमा कात्तिक २६ गते, बर्दिबास र पोखरामा कात्तिक २८ गते तथा सुर्खेत र धनघढीमा कात्तिक ३० गते विरोध प्रर्दशन र कोणसभा आयोजना गरेका छन् । सो कार्यक्रम स्थानीयस्तरमा पनि आवश्यक्ताका आधारमा गरिने नेकपाका नेता प्रकाण्डले जानकारी दिए ।