“एमालेको झोलामा नयाँ नेपालको योजना, गठबन्धनको झोलामा तासको ठेली”

राष्ट्रपाटी न्युज

कार्तिक २१, २०७९

रामेछाप । नेकपा एमाले केन्द्रीय सदस्य कैलाश ढुङ्गेलले मङ्सिर ४ को निर्वाचन दुई ध्रुवबीचको लडाइँ भएको बताएका छन् । नेकपा एमाले रामेछाप निर्वाचन परिचालन कमिटी रामेछापले सोमबार उमाकुण्ड गाउँपालिका–३ कुभुकास्थलीमा आयोजना गरेको चुनावी कोण सभामा बोल्दै ढुङ्गेलले एकातिर कांग्रेसको झण्डामुनि गठबन्धनका दल र अर्कोतिर एमाले चुनावी मैदानमा रहेको बताएका हुन् ।

प्रतिनिधि सभामा उम्मेदवारसमेत रहेका ढुङ्गेलले गठबन्धन दलका नेता अहिले एक देखिए पनि उनीहरूको एकता धेरै नटिक्ने प्रष्ट पारे । ‘अहिले एउटै माला लगाएका छन्, मङ्सिर ४ पछि त्यो माला चुँडिन्छ, गठबन्धनका नेताबीच बोलचाल बन्द हुन्छ’, आफ्ना प्रतिस्पर्धीलाई संकेत गर्दै उनले भने ।

बागमती प्रदेशमा पूर्व आर्थिक मामिला तथा योजनामन्त्रीसमेत रहेका ढुंगेलले भने, ‘एमालेको झोलामा नयाँ नेपालको योजना छ, गठबन्धनका उम्मेदवारको झोलामा तासको ठेली छ, झोलामा हात हालेर तास निकाल्छन्, एकछिन खेल्छन्, रमाइलो गर्छन्, सकिन्छ ।’

एमाले सधैँ जनताको बीचमा रहेको पार्टी भएकोले चुनावमा धेरै दौडधुप गरिरहनु नपर्ने उनले बताए। अहिले गठबन्धनका उम्मेदवारहरू एमालेको चिट चोर्न दौडधुपमा लागेका ढुङ्गेलले टिप्पणी गरे। उनले गठबन्धन दलका उम्मेदवारलाई विकासमा बहस गर्न टेबलमा आउन चुनौतीसमेत दिए ।

नेकपा एमाले बागमती प्रदेश सचिवालय सदस्य शान्तिप्रसाद पौडेलले एमाले देश विकासको आधार स्तम्भ तयार गर्ने पार्टी भएको बताए । उनले एमालेले ल्याएको विकास अवधारणा कार्यान्वयनको लागि पनि एमालेकै सरकार आवश्यक रहेको स्पष्ट पारे। प्रदेश सभाका निर्वाचन क्षेत्र नम्बर १ का  उम्मेदवारसमेत रहेका पौडेलले भने, ‘जसको नीति, उसैको नेतृत्व आवश्यक छ ।’

उनले नेपालमा सामाजिक सुरक्षा भत्ताको अवधारणा नेकपा एमालेले नै ल्याएको बताए । ‘मनमोहन अधिकारीले ल्याएको एक सय रुपैँयाको सामाजिक सुरक्षा भत्ता अहिले ४ हजार पुर्‍याइएको छ।’ पौडेलले थपे, ‘सामाजिक सुरक्षा भत्ता एमाले ५ हजार पुर्‍याउन चाहन्थ्यो, तर एमाले सरकार ढालियो ।’ उनीहरुले एमालेको सरकारको पालामा गरेको काम जनतासमक्ष पु-याउन समेत नेता कार्यकर्तालाई निर्देशन दिए ।


Published :कार्तिक २१, २०७९


Copyright : © 2020-2025 All right reserved

Developed by: Abritti Media