काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतबाट सफाइ पाएका १२४ मुद्दाविरुद्ध सर्वोच्च अदालतमा पुनरावेदन दिएको छ ।
मंगलबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै अख्तियारले विशेष अदालतबाट भएका फैसलामा चित्त नबुझी २ सय ५१ प्रतिवादीका १ सय २४ मुद्दाविरुद्ध सर्वोच्चमा पुनरावेदन दिएको जनाएको हो ।
पुनरावेदन दिएका मुद्दाका कुल बिगो रकम ४२ करोड १६ लाख २६ हजार ४ सय ६२ रुपैयाँ रहेको अख्तियारका प्रवक्ता श्यामप्रसाद भण्डारीले जानकारी दिए । चालू आवमा १ सय ६३ वटा फैसला प्राप्त गरेको र त्यसमध्ये अधिकांशको सर्वोच्चमा पुनरावेदन दिएको भण्डारीले बताए । पुनरावेदन दिएकामध्ये सबैभन्दा बढि घुसररिसवत मुद्दाको संख्या १ सय १२ रहेको छ ।
त्यस्तै, अन्य मुद्दामा सामाजिक सुरक्षा भत्ता हिनामिना, राजस्व चुहावट, गैर कानुनी सम्पती आर्जन लगायतका छन् । अख्तियारका प्रवक्ता भण्डारीले आयोगको सफलता घट्नुमा आयोगको अनुसन्धानको कमजोरी नभएको बताए । सप्रमाण हुँदा पनि विशेष अदालतबाट उपयुक्त फैसाला नभएपछि कानुनले नै दिएको सुविधा उपयोग गरेर कानुनबमोजिम नै सर्वोच्चमा पुनरावेदन दिएको उनको भनाइ छ ।
उनले भ्रष्टचारको मुद्दामा गम्भीर तवरले अनुसन्धान गरेर सप्रमाण कसुर स्थापीत गर्ने काममा सफल नहुँदा गलत नजिर बस्ने भएकाले पुनरावेदनमा जानु परेको भण्डारीले बताए ।
प्रवक्ता भण्डारीले मुद्दाको असफलताको दर बढ्दै जानुमा आयोगको कमजोरी नभएको दावी गरे । उनले आयोगमा मुद्दा परेका विषयहरुमा अहिले पनि आयोग आन्तरिक रुपमा छानविनमा केन्द्रीत भएको जिकिर गरे ।