जनताको शासक होइन सेवक भएर काम गर्ने एमाले उपाध्यक्ष पौडेलको प्रतिबद्धता

राष्ट्रपाटी न्युज

कार्तिक २५, २०७९

रुपन्देही । नेकपा एमालेका उपाध्यक्ष तथा रुपन्देही क्षेत्र नम्बर–२ का प्रतिनिधिसभा सदस्यका उम्मेदवार विष्णुप्रसाद पौडेलले विगतको निर्वाचनभन्दा फराकिलो मतान्तरले जित हासिल गर्ने दाबी गरेका छन् ।

रुपन्देही–२ मा मात्रै नभएर मुलुकभरि नै विजयी हुने गरी एमाले निर्वाचनमा होमिएको उहाँको भनाइ छ । विकास र समृद्धिका लागि आगामी मंसिर–४ को निर्वाचनबाट जनताले नेकपा एमालेलाई सबैभन्दा ठूलो दल बनाउने पौडेलले बताए ।

आफ्नो निर्वाचन क्षेत्र रुपन्देही–२ का विभिन्न वडाहरुमा घरदैलो अभियानलाई तिब्रता दिएका पौडेलले जनताको शासक होइन सेवक भएर आफूले काम गर्ने समेत प्रतिबद्धता गरेका छन् ।

उनले भने- ‘जनताको साझा प्रतिनिधि भएर काम गर्ने छौं । हिजो को कहाँ, कुन पार्टीमा भन्ने हुँदैन । सबै दल, जातजाती, भाषभाषीका जनतालाई समान रुपले हामीले हेर्ने छौं ।’

आज बुटवल–११ बुद्धनगरमा घरदैलो अभियानका क्रममा बोल्दै पौडेलले बुटवल पश्चिमको क्षेत्रलाई नमुना र आधुनिक शहरको रुपमा बिकसित गर्ने प्रतिबद्धता जनाए ।

‘यहाँको कनेक्टिभिटीका लागि हरेक वडाहरु जोड्ने सडकलाई कालोपत्रे गरिने छ भने, मुख्य राजमार्गसँग जोडेर दुई लेनका सडक योजनाहरु अघि बढाइने छ ।’ पौडेलले भने- ‘बुटवल पश्चिम अब पर्यटकीय र कृषि औद्योगिकीकरणमा अघि बढ्ने छ ।’

निर्माणाधिन भौतिक पूर्वाधारलाई पूर्णता दिएर अब रुपन्देहीलाई नमुना जिल्ला बनाउने उहाले बताउनु भयो । बिकास आयोजनाहरुसँगै अबको ध्यान रोजगार सिर्जना, शिक्षा, स्वास्थ्य लगायतका मानवीय विकासमा केन्द्रीत हुने पौडेललको भनाइ छ ।


Published :कार्तिक २५, २०७९


Copyright : © 2020-2025 All right reserved

Developed by: Abritti Media