काठमाडौं । नेपाल परिवार दलका अध्यक्ष एकनाथ ढकालले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली नेपाली राजनीतिको श्रीखण्ड भएको दाबी गरेका छन् ।
शुक्रबार गृह जिल्ला गोरखामा आयोजित पत्रकार भेटघाट कार्यक्रममा बोल्दै उनले त्यसैले खुर्पाका बिँडहरू छाडेर श्रीखण्डसित चुनावी गठबन्धन गरिएको दाबी गरे।
उनले भने- ‘केपी शर्मा ओली भनेका नेपाली राजनीतिका श्रीखण्ड हुन् । केहीले नबुझेर आलोचना गर्ने गरेका मात्र हुन् ।’ खुर्पाको बिँड भन्दा श्रीखण्ड नै बोकेर हिँड्नुपर्छ भनेर ओली तृत्वको पार्टीसित चुनावी गठबन्धन गरेको उनले बताए ।’
समृद्ध नेपाल, सुखी नेपालीको सपना ओली नेतृत्वकै सरकारले मात्र साकार पार्न सक्ने उनको दाबी छ । परिवार दलका केन्द्रीय अध्यक्ष ढकाल नेकपा एमालेको तर्फबाट समानुपातिक बन्दसूचीको दोस्रो नम्बरमा परेका छन् ।
उनले परिवार दलको देशभर एक लाख ६५ हजार मतदाता रहेको दाबी गरे। गण्डकी प्रदेशमा १५ हजार मत रहेको महामन्त्री एवं गण्डकी प्रदेश संयोजक प्रकाशबाबु थापाले बताए।
राष्ट्रियताको संरक्षण, संविधानको कार्यान्वयन, शान्ति लोकतन्त्र र समृद्धि, भ्रष्टाचार निवारण, सुशासन, युवा तथा रोजगार, अन्तर्राष्ट्रिय सम्बन्ध सुधार, वातावरण संरक्षण लगायत १५ बुँदे प्रतिवद्धता ढकालले सार्वजनिक गरेका छन् ।