पाकिस्तानलाई ५ विकेटले हराउँदै इङ्ल्यान्डले जित्यो आईसीसी टी–२० विश्वकपको उपाधि

राष्ट्रपाटी न्युज

कार्तिक २७, २०७९

मेलबर्न । फाइनलमा पाकिस्तानलाई ५ विकेटले पराजित गर्दै इङ्ल्यान्डले दोस्रो पटक आईसीसी टी–ट्वेन्टी विश्वकपको उपाधि जितेको छ ।

आइतबार मेलबर्न क्रिकेट मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको पाकिस्तानले निर्धारित २० ओभरमा आठ विकेट गुमाएर एक सय ३७ रनको योगफल तयार गरेको थियो।

जवाफी ब्याटिङमा उत्रिएको इङ्ल्यान्डले १९ ओभरमा पाँच विकेट गुमाएर लक्ष्य पूरा गर्‍यो ।

इङ्ल्यान्डका लागि बेन स्टोक्सले ४९ बलमा पाँच चौका र एक छक्कासहित ५२ रनको अविजित अर्धशतकीय इनिङ खेले ।

त्यस्तै, ओपनर तथा कप्तान जोस बटलरले २६ तथा ह्यारी ब्रुक्सले २० रनको इनिङ खेलेका थिए । यस्तै, मोइन अली १९ रनमा बनाएर पेभेलियन फर्के ।

पाकिस्तानका लागि ह्यारिस रौफले दुई तथा शाहीन शाह अफ्रिदी र सादाबा  खानले एक–एक विकेट लिए ।

पहिलो इनिङमा पाकिस्तानका ओपनर मोहम्मद रिजवान १५ तथा कप्तान बाबर आजम ३२ रन बनाएर पेभेलियन फर्केका थिए । एडेलेडमा इङ्ल्यान्डको कसिलो बलिङविरुद्ध संघर्षरत पाकिस्तानले ठूलो योगफल बनाउन सकेको थिएन ।

पाकिस्तानका लागि २८ बलको सामना गरेका शान मशुदले दुई चौका र एक छक्कासहित सर्वाधिक ३८ रन बनाएर पेभेलियन फर्के ।

त्यस्तै, शादाब खानले २० बाहेक अन्य ब्याटरले उल्लेख्य प्रदर्शन गर्न सकेनन् ।

इङ्ल्यान्डका लागि चार ओभरमा १२ रन खर्चेर साम कुरानले सर्वाधिक तीन तथा आदिल राशिद र क्रिस जोर्डनले दुई–दुई विकेट लिए। बेन स्टोक्सले एक विकेट हात पारे ।


Published :कार्तिक २७, २०७९


Copyright : © 2020-2025 All right reserved

Developed by: Abritti Media