
ओखलढुंगा। आगामी मङ्सिर ४ गते हुन गैरहेको निर्वाचनमा चर्चाको केन्द्रमा रहेको ओखलढुंगामा राजनीतिक ज्वरो बढ्दै गएको छ। नेकपा एमालेका उम्मेदवार यज्ञराज सुनुवार तथा नेपाली कांग्रेसका उम्मेदवार रामहरी खतिवडाका बीच मुख्य रुपमा यो क्षेत्रमा प्रतिष्पर्धा हुँदै छ।
यसैबीच अहिले दुवै उम्मेदवारहरु आक्रामक रुपमा चुनावी प्रचार प्रसारमा व्यस्त छन्। पछिल्लो समय एक अर्कालाई गाली गलौज गर्ने अवस्था समेत सिर्जना भएको छ। केहि समय अघि ऋषि धमलाको चर्चित कार्यक्रम जनता जान्न चाहन्छनमा समेत चर्चित विवाद गरेका उनीहरु हाल आफ्नो चुनावी अभियानमा समेत एक अर्कालाई गालि गर्न व्यस्त छन्।
केहि दिन अघि लिखु गाउपलिकाको यसममा आयोजित कार्यक्रममा नेपाली कांग्रेसका रामहरी खतिवडाले यज्ञराज सुनुवारले बिकासका काम गर्न नसकेको भन्दै नामर्दको आरोप लगाएका थिए। उनको त्यो आक्रामक भनाइ सार्वजिक भएसंगै नेकपा एमालेका उम्मेदवार यज्ञराज सुनुवार फायर भएका छन्। त्यसको केहि दिन पछि चम्पादेवी गाउँपालिकाको घोराखोरी र सुनकोशी गाउँपालिकाको च्यानममा आयोजित कार्यक्रममा आक्रामक रुपमा मन्तव्य राख्दै सुनुवारले रामहरी खतिवडाले रोलेक्स घडी चोरेर ओखलढुंगाको बेइज्जत गरेको आरोप लगाएका छन्।
अत्यन्त आक्रामक रुपमा प्रस्तुत भएका उनले काण्डै काण्डले भरिएका रामहरिलाई जनताले भोट नदिने भन्दै आफूले जित्ने दावी समेत गरेका छन्।