
ललितपुर । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले एमालेबाहेक अन्य कुनै दलले जित्नुपर्ने कुनै आधार नभएको बताएका छन् ।
प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्य निर्वाचन प्रचारप्रसारको क्रममा अध्यक्ष ओली आज बिहान ललितपुरको भैंसेपाटी र छम्पी पुगेका थिए ।
ओलीले छम्पीमा संक्षिप्त सम्बोधन गर्दै ललितपुर निर्वाचन क्षेत्र नं १ मा नेकपा (एमाले) बाहेक अन्य कुनै दलले जित्नुपर्ने कुनै आधार नभएको बताएका हुन् ।
एमाले अध्यक्ष ओली ललितपुर निर्वाचन क्षेत्र नम्बर १ अन्तर्गत गोदावरी नगरपालिका– ९ को छम्पीमा घरदैलोमा सहभागी भएका थिए । उनले आज ललितपुरका दुई निर्वाचन क्षेत्रमा पुगी आसन्न निर्वाचनमा प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्यका एमाले उम्मेदवारहरूलाई हौसला र उत्साह प्रदान गरे ।
उनले देश र प्रदेशका लागि एमाले बाहेक अरूले विगतमा के गरे, त्यो सबैले देखेको बताए । ओलीले भने–‘एमालेको सरकार हटाएर गठबन्धनको परमादेशी सरकार बनाएको १६ र १७ महिनाभित्र देशलाई बर्बाद बनाउने काम मात्र भएको छ ।’
उनले देशको विकास, लोकतन्त्रको रक्षा र जनताको जीवनमा सकारात्मक परिवर्तन ल्याउन आगामी निर्वाचनमा एमालेले जित्नुको विकल्प नभएको बताए ।
यसअघि ललितपुरको निर्वाचन क्षेत्र नं ३ मा पर्ने भैंसेपाटीमा संक्षिप्त भेटघाट र पैदलयात्राका लागि पुग्नुभएका अध्यक्ष ओलीलाई त्यस क्षेत्रमा पार्टीले युवा, योग्य र अनुभवी उम्मेदवार बनाएकामा नागरिक समाज र स्थानीयको तर्फबाट आभार प्रकट गरिएको थियो ।
कार्यक्रममा अध्यक्ष ओलीले सो क्षेत्रका प्रतिनिधि सभा तथा प्रदेश सभाका उम्मेदवारलाई विजयको शुभकामना दिए । भैंसेपाटीमा अध्यक्ष ओलीलाई बरिष्ठ सञ्चारकर्मी भुषण दाहाल र टेलिभिजन कार्यक्रम सञ्चालक सुरजसिंह ठकुरीले पुष्पगुच्छा र मालाले स्वागत गरे ।
अध्यक्ष ओलीसहितको संक्षिप्त पदयात्रामा बरिष्ठ सञ्चारकर्मी दाहाल र ठकुरी, ललितपुर क्षेत्र नं ३ का प्रतिनिधि सभाका एमालेका उम्मेदवार अमृत खड्का र प्रदेश सभा सदस्य उम्मेदवार प्रेमभक्त महर्जनसहित नागरिक समाज र बुद्धिजीवीहरूको सहभागिता रहेको थियो ।
शुरुमा नागरिक समाज मात्र सहभागी पैदलयात्रामा एमालेको निर्वाचन सम्पर्क कार्यालय पुगेपछि एमाले ललितपुरका इन्चार्ज एवं पोलिटव्यूरो सदस्य सुशीला नेपाल, केन्द्रीय सदस्य एवं सहइन्चार्ज हरिकृष्ण व्यञ्जनकार, केन्द्रीय सदस्य बाबुराम थापा, जिल्ला अध्यक्ष पुरुषोत्तम आचार्य लगायत नेता-कार्यकर्ता सहभागी भएका थिए ।