ओखलढुंगा अपडेट- रामहरीको गाउँमा यज्ञराजको धमाका

राष्ट्रपाटी न्युज

२९ कार्तिक २०७९

ओखलढुंगा। आगामी मङ्सिर ४ गते हुन गैरहेको निर्वाचनमा चर्चाको केन्द्रमा रहेको ओखलढुंगामा राजनीतिक ज्वरो बढ्दै गएको छ। नेकपा एमालेका उम्मेदवार यज्ञराज सुनुवार तथा नेपाली कांग्रेसका उम्मेदवार रामहरी खतिवडाका बीच मुख्य रुपमा यो क्षेत्रमा प्रतिष्पर्धा हुँदै छ।

यसैबीच नेपाली कांग्रेसका उम्मेदवार रामहरी खतिवडाको गाउँपालिका मानेभञ्ज्याङमा कांग्रेसका ३ सय भन्दा बढी नेता कार्यकर्ता एमालेमा प्रवेश गरेका छन् । गाउँपालिका कार्यसमितिका उपसभापति तथा क्षेत्रीय सदस्य गंगाबहादुर राई, वाक्साका कांग्रेस संस्थापक कुलबहादुर कार्कीसहितका नेता कार्यकर्ता एमालेमा प्रवेश गरेका हुन् । सयौको संख्यामा नेपाली कांग्रेसका कार्यकर्ता एमाले प्रवेश गरेको उक्त गाउँपालिकामा हजारौ कार्यकर्ता र मतदाता सहित एमालेले शक्ति प्रदर्शन गरेको छ ।

सयौको प्रवेश सहित भव्य कार्यक्रम आयोजना भएपछी नेकपा एमालेका उम्मेद्वारहरु उत्साहित देखिएका छन्। मानेभञ्ज्याङको चुनावीसभालाई सम्बोधन गर्दै एमालेका उम्मेदवार यज्ञराज सुनुवारले ओखलढुंगामा मंसिर ४ को चुनावमा तीनै सिट एमालेले जित्ने दावी गरेका छन् । मानेभञ्ज्याङबाटै खतिवडाको भन्दा बढी भोट ल्याएर चुनाव जित्ने दावी गर्दै उनले आफूले चुनाव जितिसकेको र घोषणा गर्न मात्र बाँकी रहेको बताएका छन् ।

१० वर्षसम्म आफुले सांसदहुँदा गरेको काम र पार्टीको बलियो संगठन आफ्नो जितको आधार रहेको उनले बताएका थिए । मानेभञ्ज्याङ सहित जिल्लाका ८ वटै स्थानीय तहको विकासमा आफुले सबैभन्दा बढी योगदान गरेको उनको दावी छ ।

कार्यक्रमलाई केन्द्रीय सदस्य एबम समानुपातिक उम्मेदवार किशोर अधिकारी, प्रदेश २ का उम्मेदवार जिवी खड्का लगायतले सम्बोधन गरेका थिए ।


Published :२९ कार्तिक २०७९


Copyright : © 2020-2025 All right reserved

Developed by: Abritti Media