मंसिर ४ परमादेशी सरकारको बिदाइ गर्ने दिनः एमाले महासचिव पोखरेल 

राष्ट्रपाटी न्युज

कार्तिक २९, २०७९

दाङ । नेकपा एमालेका महासचिव शंकर पोखरेलले मंसिर ४ पछि एमालेको नेतृत्वमा जनताको सरकार बन्ने दाबी गरेका छन् । आज दाङमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै महासचिव पोखरेलले अहिलेको गठबन्धन सरकारले देश र जनताको वेवास्ता गरेको बताए । अहिलेको गठबन्धन सरकार विकास विरोधी रहेको भएको भन्दै उनले मंसिर ४ गते परमादेशी गठबन्धन सरकारको बिदाइ गर्ने दिन भएको बताए ।

मंसिर ४ मा जनताको काम गर्ने पार्टीलाई जिताउनुपर्ने महासचिव पोखरेलले बताए । उनले भने, ‘यस्तो सरकार राखेर जनताको भाग्य र भविष्य बन्न सक्छ ? बन्दैन, त्यसकारण मंसिर ४ गतेका दिन गठबन्धलाई बिदाइ गर्ने हो, नेकपा एमालेको नेतृत्वमा जनताको सरकार बनाउने संकल्प तपाईं हामीले गर्नुपर्नेछ ।’ गठबन्धन सरकार बनेपछि विकासका काम ठप्प भएका र गठबन्धन सरकारले एमालेले ल्याएका विकासका योजना काटेको आरोप लगाए ।

गठबन्धन सरकारका कारण देशको अर्थतन्त्र अस्तव्यस्त भएको उनले बताए । जनताको काम गर्ने, जनताको समस्या समाधान गर्ने र विकास गर्ने पार्टी एमाले मात्रै रहेको भन्दै उनले विकासका काम गर्नेलाई भोट दिन सबैलाई आग्रह गरे । महासचिव पोखरेलले आफू लुम्बिनी प्रदेशको मुख्यमन्त्री हुँदा विकास र निर्माणका कामलाई तिब्रता दिएको दाबी गरे ।

केपी शर्मा ओली नेतृत्वको सरकारको पालामा ३ वर्षको अवधिमा ऐतिहासिक काम भएका महासचिव पोखरेलले बताए । उनले भने,‘भेरीको पानीलाई बबईमा खसाल्न, सुनकोशीको पानी वाग्मतीमा खसाउने योजना अगाडि बढेको छ, यसले के देखिन्छ भने एउटा देशभक्त र जनताका पक्षको सरकार भयो भने असम्भव भनिएको कुरालाई पनि सम्भव बनाउने सामर्थ्य राख्ने रहेछ ।’

केपी ओली नेतृत्वको सरकारले १८ घण्टे लोडसेडिङ हटाएर र देशलाई बिजुली निकासी गर्ने आधार बनाएको‍ उनले बताए ।

मंसिर ४ मा परमादेशी सरकारलाई हटाएर एमालेको नेतृत्वमा बहुमतको सरकार बनाइने बताउँदै महासचिव पोखरेलले भने, ‘अदालतले बनाएको परमादेशी सरकारलाई बिदाइ गर्नेछौं र एमालेको नेतृत्वमा जनताको सरकार बनाउनेछौं ।’

गठबन्धनवालाहरुले वृदभत्ता नबढाएको उनले बताए । वृद्धवृद्धालाई माया गर्ने पार्टी एमाले मात्रै रहेको महासचिव पोखरेलले बताए । विकासको नेतृत्व गर्ने र नाकाबन्दी अन्त्य गर्ने काम पनि एमालेले गरेको उनले बताए । एमालेको सरकार हुँदा किसानलाई मल, सिंचाईको व्यवस्था गरेको गठबन्धनले वेवास्ता गरेको उनले आरोप लगाए ।


Published :कार्तिक २९, २०७९


Copyright : © 2020-2025 All right reserved

Developed by: Abritti Media