
काठमाडौं । डा. गोविन्द केसीले प्रमुख राजनीतिक दलका शीर्ष नेताहरुलाई आगामी निर्वाचनमा भोट नदिन मतदाताहरुसमक्ष अपील गरेका छन् ।
मंगलवार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै डा. केसीले प्रधानमन्त्रीसमेत रहेका नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली र नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल लगायत शीर्ष नेताहरुलाई भोट नदिन अपील गरे ।
उनले शीर्ष नेताहरुले देश र जनतालाई धोका दिएको बताए । शीर्ष नेताहरुले राजनीतिलाई भ्रष्टीकरण र आपराधीकरण गरेको उनले आरोप लगाए । शीर्ष नेताहरुले भ्रष्टाचार, अपराध, अक्षमता र तानाशाही प्रवृत्ति भएकाहरुलाई चुनावमा उम्मेदवार बनाएर इमान्दारिताको राजनीति गर्नेहरुलाई पाखा लगाएको पनि उनले आरोप लगाए ।
डा. केसीले पुरानै नेताहरुको हालिमुहालीका कारण देश विगत पाँच वर्षमा दशौँ वर्ष पछाडि धकेलिएको बताए । उनले आफ्नो प्रतिनिधि चयन गर्दा अघिल्लो निर्वाचनमा जस्तो गल्ती नगर्न पनि मतदाताहरुलाई आग्रह गरे । उनले सबै पार्टीमा राम्रो नेताहरु पनि भएकाले राम्रो नेतालाई मात्रै छानेर भोट दिन आग्रह गरे ।
उनले नेपाली जनताहरु नेतृत्वबाट ठगिएको बताए । नेपालमा भ्रष्टाचार र लुटतन्त्र संस्थागत भएर चरम सीमामा पुगेका कारण आर्थिक प्रगति हुन नसकेको उनको भनाइ थियो ।