मोतिपुरवासीलाई घरबारविहीन हुन दिन्नँ : गृहमन्त्री खाँण

राष्ट्रपाटी न्युज

३० कार्तिक २०७९

रुपन्देही । गृहमन्त्री बालकृष्ण खाँणले रुपन्देहीको मोतिपुरमा औद्योगिक क्षेत्र निर्माण गर्दा त्यहाँ बसोबास गर्दै आएका परिवारहरुलाई घरबारबिहीन हुन नदिने प्रतिबद्धता व्यक्त गरेका छन् ।

रुपन्देही क्षेत्र नम्बर ३ बाट प्रतिनिधिसभा सदस्य पदका उम्मेदवार एवं नेपाली काँग्रेसका केन्द्रीय सदस्य खाँणले मंगलबार जिल्लाको फर्साटिकरमा आयोजित चुनावी सभामा बोल्दै औद्योगिक क्षेत्रको क्षेत्रफल घटाएर स्मार्ट निर्माण गरिने र अहिले बसोबास भएकालाई घरबिहीन हुन नदिने प्रतिबद्धता जनाए ।

‘मोतिपुरमा बसोबास भएका व्यक्तिको घर त के, आँगनमा रहेको बोट समेत उखेल्न दिइने छैन,’ उनले भने, ‘ढुक्क सुत्नुस्, गठबन्धन तपाईंको साथमा छ । म तपाईंको साथमा छु ।’ औद्योगिक क्षेत्र निर्माणका क्रममा जनतालाई पुग्ने पीडामा मल्हम नलगाए नेता खरानी हुने चेतावनी दिए ।

‘नागरिकको बास र जीवन रक्षाका लागि आवश्यक परे आन्दोलन हुन्छ,’ उनले भने, ‘उक्त आन्दोलनमा नागरिकसँगैं गठबन्धनका नेता र म सहभागी हुन्छौं ।’ औद्योगिक क्षेत्रमा बसोबास रहेका परिवारको जग्गा बचाउन क्षेत्रफल घटाउने औपचारिक निर्णय भइसकेकाले नआत्तिन आग्रह गरे ।

‘साढे दुई महिनाअघि बुटवल उपमहानगर पालिकामा मैले आह्वान गरेर सरोकारवालाबीच औद्योगिक क्षेत्रको पुनः नक्सांकन गरेर क्षेत्रफल घटाउन औपचारिक निर्णय गरिसकेका छौं,’ खाँणले भने, ‘मोतिपुरबाट नागरिक नहटाउने निर्णय भएको छ ।’ जनतालाई प्रताडित गरेर हुने बिकासप्रति आफ्नो समर्थन नरहने उनले बताए ।

‘३० वर्ष अघि सांसद हुँदा म युवा थिए, त्यो बेला भएको भए आक्रोशमा निर्णय गर्थे होला,’ उनले भने, ‘अहिले म धार्मिक भइसके । नागरिकका पीडाले मलाई गम्भीर तुल्याउँछन् । म नागरिकलाई मर्का पर्ने निर्णय गर्न सक्दिनँ ।’

औद्योगिक क्षेत्र निर्माणमा तत्काली सरकारले हतार गरेकाले समस्या निम्तिएको उनले बताए । खाँणले रुपन्देहीलाई विकसित जिल्ला बनाएरै छाड्ने आफ्नो अठोट भएको समेत बताए । उनले रुपन्देहीको विकासले मुलुकभर विकासको सन्देश दिन सक्ने जनाउँदै त्यसका लागि प्रतिबद्ध भएर लाग्ने प्रष्ट पारे । गृहमन्त्री खाँणले विकासमा रुपन्देही एक नम्बर जिल्ला बनाएरै छाड्ने उद्घोष गर्दै भने, ‘नेपालको विकास हुँदा रुपन्देही मुख्य प्राथमिकतामा पर्ने छ, यो काम गठबन्धन र मैले गर्नेछु ।’

रुपन्देही-३ (२) का उम्मेदवार नेपाली काँग्रेसका नेता रामचन्द्र ढकालले बुटवलबाट राजधानी दाङ पु‍र्‍याउन हस्ताक्षर गर्ने व्यक्ति नै अहिले उम्मेदवार रहेको बताए । ‘राजधानी फिर्ता ल्याउँछु भनेर प्रचार गरिरहेका छन्,’ उनले भने, ‘ राजधानी दाङ पुर्‍याउँदा हामीले आन्दोलन गरेका थियौं, यो कुरा जनताले बुझ्नुपर्छ, हिजो जनताको अपमान गर्नेले माफ माग्नु पर्नेमा राजधानी फिर्ता ल्याउँछु भनेर झुट्टा कुरा गरिरहेका छन् ।’ राजधानी सार्ने नेता प्रचारमा आइरहेकाले प्रश्न गर्न उनले अनुरोध गरे ।

रुपन्देही-३(१) का उम्मेदवार सन्तोषकुमार पाण्डेयले पहिलो पटक जिल्लाले राष्ट्रिय नेता प्राप्त गरेकाले गठबन्धनका उम्मेदवार बिजयी गराउन अनुरोध गरे ।

काठमाडौंपछि भैरहवा अन्तरांष्ट्रिय सहर बन्ने क्रममा रहेको र त्यसको नेतृत्व खाँणले गर्ने उनले बताए । उनले गठबन्धनको जित अहिलेको आवश्यकता रहेको जिकिर गरे ।


Published :३० कार्तिक २०७९


Copyright : © 2020-2025 All right reserved

Developed by: Abritti Media