पशुपति क्षेत्रमा बालाचतुर्दशीको तयारी तीव्र

राष्ट्रपाटी न्युज

कार्तिक ३०, २०७९

काठमाडौँ । पशुपति क्षेत्रमा बाला चतुर्दशी पर्वको तयारीस्वरुप सफाइ सुरु गरिएको छ ।

पशुपति क्षेत्रमा बाला चतुर्दशीको तयारीस्वरुप सरसफाइ र शतबीज छर्ने मार्गमा विद्युतीय बत्ती व्यवस्थापन गर्न थालिएको पशुपति क्षेत्र विकास कोषका प्रवक्ता रेवतीरमण अधिकारीले राससलाई जानकारी दिएका छन् ।

प्रत्येक वर्ष मार्गशीर्ष कृष्ण चतुर्दशीका दिन बिहान दिवङ्गत पितृको सद्गतिको कामना गर्दै पशुपति क्षेत्रमा शतबीज छर्ने वैदिक सनातन हिन्दू धर्मशास्त्रीय परम्परा छ। दिवङ्गत पितृका नाममा शतबीज छर्न मार्गशीर्ष कृष्ण त्रयोदशीकै बेलुकीदेखि पशुपति क्षेत्रमा भक्तजनको भीड लाग्ने गर्छ ।

भक्तजन मार्गशीर्ष कृष्ण त्रयोदशीको बेलुकी पशुपति क्षेत्रलगायत देशभरका शिवालयमा दिवङ्गत पितृका नाममा बत्ती बालेर बस्छन्। मार्गशीर्ष कृष्ण चतुर्दशीको बिहानै पशुपति क्षेत्रको विशेषगरी मृगस्थलीमा शतबीज छर्ने गरिन्छ ।

यस वर्ष बाला चतुर्दशी पर्वको तयारीका लागि कोषको संस्कृति संरक्षण महाशाखालाई सबै जिम्मेवारी दिइएको प्रवक्ता अधिकारीले जानकारी दिएका छन्। बाला चतुर्दशीका अवसरमा पशुपति क्षेत्रमा लाखौँ भक्तजनको भीड लाग्ने गर्छ । यस वर्ष मङ्सिर ८ गते बाला चतुर्दशी पर्व परेको नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले स्वीकृति दिएको पात्रोमा उल्लेख छ ।


Published :कार्तिक ३०, २०७९


Copyright : © 2020-2025 All right reserved

Developed by: Abritti Media