गच्छदारले मतपत्र लुटेर चुनाव जित्दै आएको एमाले अध्यक्ष ओलीको आरोप

राष्ट्रपाटी न्युज

३० कार्तिक २०७९

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी ओलीले मंसिर ४ पछि एमाले नेतृत्वमा बन्ने सरकारले नागरिकता दिने अभियान नै सुरु गर्ने बताएका छन् ।
बुधबार सुनसरीमा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै अध्यक्ष ओलीले अहिले नागरिकताबारे तमासा भइरहेको भन्दै मंसिर ४ पछि एमाले नेतृत्वमा बन्ने सरकारले नागरिकता दिने अभियान नै सुरु गर्ने बताएका हुन ।
अध्यक्ष ओलीले जन्मसिद्धका सन्तानले वंशजका आधारमा नागरिकता प्राप्त गर्ने ऐन एक महिनाभित्र बनाएर अंगिकृतका सन्तानलाई वंशजका आधारमा नागरिकता दिइने आश्वासन दिएका छन् । अध्यक्ष ओलीले नेपाली नागरिकले नागरिकता पाउनुपर्छ भन्नेमा अहिले विवाद नभएर विदेशीलाई दिनुपर्छ भन्नेसँग भइरहेको बताए ।

त्यस्तै उनले सत्ता गठबन्धनबाट नेपाली कांग्रेसका उम्मेदवार रहेका विजयकुमार गच्छादार मतदाताको मन जितेर नभइ मतपत्र लुटेर चुनाव जित्दै आएको आरोप लगाएका छन । गच्छदार यसपटक चुनाव जितेर गए पनि संसद्‌ भवन छिर्न नपाउने भन्दै ओलीले आफ्नो मत खेर नफाल्न मतदातालाई आग्रह गरेका छन् । गच्छदारमाथि भ्रष्टाचार मुद्दा लागेको र निलम्वित व्यक्ति भएकाले उनको प्रतिस्पर्धी एमालेका उम्मेदवार भगवती चौधरीलाई जिताउन ओलीले आग्रह समेत गरेका छन् । सेटिङबाट धरौटीमा छुटेकोलाई कांग्रेसले उम्मेदवार बनाएको ओलीको आरोप छ ।
अध्यक्ष ओलीले कांग्रेसले चुनावी घोषणापत्रमा अरु कुरा गर्छन् हामी काम गर्छौ भनेर लेखेको भन्दै एउटा राम्रो काम गरेको देखाउन चुनौती दिएका छन् । उनले एमाले बाहेक अरु दलहरुले देश हाँक्न नसक्ने भन्दै एउटा सुदृढ राष्ट्रिय शक्ति निर्माण गर्न एमालेलाई जिताउनुपर्ने बताएका छन् ।


Published :३० कार्तिक २०७९


Copyright : © 2020-2025 All right reserved

Developed by: Abritti Media