पाकिस्तानमा भ्यान दुर्घटना हुँदा २० जनाको मृत्यु, १३ घाइते

काठमाडौं । पाकिस्तानको दक्षिणी सिन्ध प्रान्तमा बिहीबार राति एउटा यात्रुबाहक भ्यान सडकबाट केही तल पानीको खाल्डोमा खस्दा २० जनाको मृत्यु भएको छ ।  घटनामा अन्य १३ जना घाइते भएका छन् ।

प्रान्तको सेहवान क्षेत्रमा भ्यान मुख्य राजमार्गबाट चिप्लिएर दुर्घटना हुन पुगेको थियो । अधिकारीहरूले दुई महिनाअघि बाढीको निकासका लागि उक्त क्षेत्रमा भ्यान खसेको ठाउँसहित कैयौँ खाडलहरू निर्माण गरेका थिए ।

बाढीको समयमा राजमार्ग बन्द रहेको थियो र हालसालै यस क्षेत्रबाट बाढीको पानी घट्न थालेपछि यातायातका लागि खोलिएको थियो । दुर्घटना भएको राजमार्गको केही भाग सीमित रहेको र सडकमा डाइभर्सन गरिएको भए पनि तीव्र गतिका कारण गति नियन्त्रणका लागि राखिएको अवरोध नदेख्दा दुर्घटना भएको प्रहरीले जनाएको छ ।

महिला र बालबालिकासहित घाइतेलाई नजिकैको अस्पतालमा लगिएको र तीमध्ये केहीको अवस्था गम्भीर रहेको बताइएको छ ।

मृतक र घाइतेहरू सेहवानको एक धार्मिकस्थल जान हिँडेका बताइएको छ । (रासस)


Published :२ मंसिर २०७९


Copyright : © 2020-2024 All right reserved

Developed by: Abritti Media