अन्तर्राष्ट्रिय शृंखलामा नेपालद्वारा युएई ६ विकेटले पराजित

काठमाडौं । निर्णायक खेलमा आशिफ शेख र ज्ञानेन्द्र मल्लको शानदार अर्धशतकसँगै नेपालले युएईसँगको एकदिवशीय अन्तर्राष्ट्रिय शृंखलामा जित हासिल गरेको छ । नेपालले युएईलाई ६ विकेटले पराजित गरेको हो ।

त्रिवि क्रिकेट मैदानमा टस हारेर ब्याटिङ थालेको यूएईले निर्धारित ५० ओभरमा ९ विकेट गुमाएर एक सय ७६ रनको योगफल तयार गरेको थियो ।

जवाफी ब्याटिङमा उत्रिएको नेपालले ४०.१ ओभरमा चार विकेट गुमाएर एक सय ८० रनसहित लक्ष्य पूरा गर्यो ।

नेपालका ओपनर अर्जुन साउद ३३ बलमा ९ रन जोडेर पेभेलियन फर्केका थिए। यद्यपि, ज्ञानेन्द्र मल्ल र आसिफले दोस्रो विकेटका लागि एक सय २२ रनको साझेदारी गर्दै लक्ष्यतर्फ डोर्‍याए। वान् डाउनमा क्रिजमा उत्रिएका ज्ञानेन्द्र ७३ बलमा सात चौका र तीन छक्कासहित ६४ रनको अर्धशतकीय इनिङ खेलेर पेभेलियन फर्के ।

नेपाललाई जिताउन महत्त्वपूर्ण इनिङ खेलेका आसिफ एक सय १९ बलमा १२ चौकासहित ८८ रनमा अविजित रहे। यस्तै, कप्तान रोहित पौडेल १० रनमा आउट भए।

यूएईका लागि हजरत बिलाल र आयान खानले एक-एक विकेट लिए। पहिलो इनिङमा खराब सुरुआत गरेको यूएईले चौथो ओभरको पहिलो बलमा तीन विकेट गुमाएको थियो।

त्यसपछि सम्हालिने कोसिस गरेको यूएईका रोहन मुस्ताफा र अलिशान साफरुले ६३ रनको साझेदारी गरेका थिए। तर, त्यसपछि लगातार विकेट गुमाएको यूएईले ३१.१ ओभरमा ९ विकेट गुमाएर ९३ रन बनाएको थियो।

अन्तिम विकेटका लागि हजरत बिलाल र आयान खानले इनिङकै ठूलो ८३ रनको साझेदारी गर्दै यूएईलाई अनपेक्षित योगफलतर्फ अगाडि बढाए। यूएईका लागि शानदार ब्याटिङ गरेका आयानले ६० बलमा सात चौका र एक छक्कासहित अर्धशतक पूरा गरेर ५४ रनमा अविजित रहे। अर्कातिर हजरत २० रनमा अविजित रहे।

नेपालका लागि कुशल भुर्तेल, गुल्शन झा र दीपेन्द्रसिंह ऐरीले दुई-दुई विकेट लिए। सोमपाल कामी र ललित राजवंशीले एक-एक विकेट हात पारे ।

तीन खेलको शृंखलाको पहिलो दिन नेपाल ८४ रनले पराजित भएको थियो। बुधबार भएको दोस्रो एकदिवसीय अन्तर्राष्ट्रियमा ३ विकेटको जित निकालेको नेपालले पुनरागमनसहित शृंखला घरमै राखेको छ ।


Published :२ मंसिर २०७९


Copyright : © 2020-2023 All right reserved

Developed by: Abritti Media