काठमाडौं । प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले काठमाडौंलगायत तराईका जिल्लाहरूमा आज राति ९ बजेदेखि नै मतगणना कार्य सुरु गरिने बताएका छन् ।
आइतबार भक्तपुरको युनिक नेपाल एकेडेमीस्थित मतदान केन्द्रबाट मतदान गरेपश्चात् थपलियाले यस्तो बताएका हुन् । थपलियाले निर्वाचनलाई स्वच्छ, निष्पक्ष र व्यवस्थित गर्न निर्वाचनमा खटिएका कर्मचारीहरूलाई निर्देशन पनि दिएका छन् ।
उनले आइतबार साँझ ५ बजे मतदान कार्य सम्पन्न हुनासाथ सबै मतपेटिकाहरू संकलन गर्ने कार्य प्रारम्भ हुने र ७ बजेसम्म मतपेटिका संकलन गरी एक घण्टा छलफलको समय राखेर आइतबार राति ९ बजेदेखि मतगणना कार्य प्रारम्भ हुने जानकारी दिए ।
उनले हिमाली जिल्लामा मतपेटिकाहरू आइतबार नै जम्मा गर्न नसकिने भएकाले सोमबार बिहान ५ बजेसम्म सबै मतपेटिका जम्मा गर्ने र आवश्यक परे हेलिकोप्टरबाट मतपेटिका संकलन गरी सोमबार ५ बजेबाट नै मतगणना कार्य प्रारम्भ गर्ने बताए । उनले प्रत्यक्षतर्फको नतिजा ८ दिनभित्रमा प्रकाशित गर्ने बताए । उनले मंसिर २२ गतेभित्रमा सबै नतिजा आउने बताए ।
थपलियाले मतगणना छिटो सम्पन्न गराउने कर्मचारीलाई पुरस्कारको समेत व्यवस्था गरेका छन् । उनले निर्वाचनलाई स्वच्छ, स्वतन्त्र, निष्पक्ष र भयमुक्त वातावरणमा सम्पन्न गराउन सबैलाई आग्रह गरे । निर्वाचनको कार्य सम्पादन गर्ने सिलसिलामा प्रभाव, दबाब, भनसुन, धम्कीमा रहेर काम नगर्न उनले कर्मचारीलाई सचेत गराए छ । उनले ७० प्रतिशत मतदाताले मतदान गर्ने अपेक्षा लिएको बताए ।
बिहानबाट शुरु भएको मतदानमा देशभर १० हजार ८ सय ९२ मतदानस्थल छन् भने २२ हजार २ सय २७ केन्द्रबाट मतदान गर्नेछन् । ती मतदान केन्द्रबाट १ करोड ७९ लाख ८८ हजार ५ सय ७० मतदाताले मतदान गर्न पाउनेछन् । त्यसबाहेक समानुपातिकतर्फका लागि अस्थायी मतदाताका लागि १ सय ४१ अस्थायी मतदान केन्द्र कायम गरिएको छ । ४ लाख ५० हजार अस्थायी मतदाता छन् ।
प्रतिनिधिसभा निर्वाचनका लागि २ हजार ४ सय १२ र प्रदेशसभाका लागि ३ हजार २ सय २४ जना उम्मेदवार चुनावी मैदानमा छन् । चुनावबाट प्रतिनिधिसभाका २७५ सदस्य र प्रदेश सभाका ५५० सदस्य चयन हुनेछन् । प्रतिनिधिसभाका लागि १६५ जना प्रत्यक्ष र ११० जना समानुपातिक प्रणालीबाट चयन हुनेछन् भने सात वटा प्रदेशसभाका लागि प्रत्यक्षतर्फ ३३० जना र समानुपातिकतर्फ २२० जना निर्वाचित हुँदैछन् ।