धादिङमा समानुपातिकको मतगणनाका क्रममा प्रत्यक्षतर्फको बाकस फेला

राष्ट्रपाटी न्युज

१० मंसिर २०७९

धादिङ । धादिङमा समानुपातिकको मत गणना गर्ने क्रममा प्रत्यक्षतर्फको बाकस भेटिएको छ ।

धादिङ प्रतिनिधिसभा क्षेत्र नम्बर २ मा प्रत्यक्षतर्फको सिंगै मतपेटिका भेटिएको हो । प्रतिनिधिसभा सदस्यका लागि समानुपातिक मत गणना गर्दा प्रत्यक्ष तर्फको बाक्सा भेटिएपछि मतगणना स्थलमा तहल्का मच्चिएको छ ।

खनियाबास गाउँपालिका वडा नम्बर ४ को गणेशकुण्ड मावि मतदान स्थलको ‘ख’ केन्द्रको मतपेटिका गणनामा छुटेको मुख्य निर्वाचन अधिकृत स्विकृति पराजुलीले बताइन् ।

गणेशकुण्ड मावि मतदान स्थलमा ‘क’ र ‘ख’ गरी दुई वटा केन्द्र रहेको थियो । ‘ख’ केन्द्रमा रहेको चार सय ५१ मत गणनामै छुट्यो । रातको समयमा सबैतिरको मतपत्रहरू एकै पटक आउँदा भण्डारमा राख्ने क्रममा प्रत्यक्ष तर्फको मतपेटिका समानुपातिकतर्फ परेको उनको भनाइ छ ।

उनका अनुसार मतदाताले मत जाहेर गरेपछि कुनै पनि भुलवस जुनसुकै बाक्सामा परे पनि सदर गर्ने मतगणनापूर्व नै सर्वपक्षीय सहमति अनुसार मतगणना हुनेछ ।

धादिङ प्रतिनिधिसभामा कूल एक सय ५५ मतदान केन्द्र रहेकोमा एक सय ५४ वटा केन्द्रको मात्रै गणना भएको छ । मतगणना सम्पन्न भएपछि सत्ता गठबन्धनका साझा उम्मेदवार नेपाली कांग्रेसका रामनाथ अधिकारी विजयी भए । अधिकारी ३४  हजार ४ सय ८३ मतका साथ विजयी भएका थिए ।

उनका प्रतिस्पर्धी नेकपा (एमाले) नेकपा एमालेका खेम लोहनीले २३ हजार ९ सय ५० मत प्राप्त गरेका थिए । अधिकारी १० हजार ५ सय ३३ मत अन्तरले विजयी भएका थिए ।

पछि फेला परेको मत गणना गर्दा नेपाली कांग्रेसका रामनाथ अधिकारीलाई भन्दा नेकपा एमालेका खेमप्रसाद लोहनीलाई १८ मत बढी आएको छ । अब दुई उम्मेदवार बीचको मतान्तर १० हजार पाँच सय १५ भएको छ ।


Published :१० मंसिर २०७९


Copyright : © 2020-2025 All right reserved

Developed by: Abritti Media