सुनसरी । सुनसरी क्षेत्र नम्बर ४ प्रतिनिधिसभाका नेकपा (एमाले) का उम्मेदवार जगदिशप्रसाद कुसियतले आफूले हार्ने निश्चित भएपछि मतगणना कार्य अवरुद्ध पारेर सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले बखेडा झिकिरहेको आरोप लगाएका छन् ।
मन्त्री कार्कीले मानसिक रुपमा आफू हार्ने निश्चित भएपछि अन्तिम समयमा आएर मतगणना नै हुन नदिएको उनको जिकिर थियो ।
सञ्चारमन्त्री कार्कीले हिजो अपरान्ह धाँधली भएको भन्दै पुनः मतगणना गर्नुपर्ने माग राखेपछि मुख्य निर्वाचन अधिकृतको कार्यालयले दलीय सहमति जुटाएर मतगणनाको कामलाई सुचारु गराउन आज सर्वदलीय बैठक बोलाएको थियो ।
बैठकमा मन्त्री कार्कीले पुनः मतगणना हुनुपर्ने अडान राखेपछि अझै मतगणना कार्य अघि बढ्न सकेको छैन । एमाले उम्मेदवार कुसियतले भने बाँकी रहेको मत गणना कार्य तत्काल शुरु गर्न निर्वाचन आयोगसँग माग गरेको बताए ।
आफूहरुको सो अडान कानूनसम्मत भएको दाबी गर्दै उनले त्यसबाट पछि हट्न नसकिने पनि स्पष्ट पारे ।
यता, मुख्य निर्वाचन अधिकृतको कार्यालयले दुवै पक्षका उम्मेदवारहरुबीच सहमति जुटाएर मतगणना कार्य सुचारु गराउन पहल भइरहेको जनाएको छ ।