काठमाडौं । अघिल्लो प्रतिनिधि सभामा रहेका ६१ जनाभन्दा बढी निवर्तमान सांसद प्रतिनिधि सभा सदस्य निर्वाचनमा पराजित भएका छन् । संसदीय राजनीतिमा लामो अनुभव रहे तापनि निर्वाचन परिणामले पार्टीको माथिल्लो तहको जिम्मेवारीमै रहेका मुख्य नेतालाई सदनबाहिर रहन बाध्य तुल्याएको छ ।
संसद्मा यसपटक प्रवेश गर्न नपाउनेमा कतिपय पार्टीका अध्यक्ष, उपाध्यक्ष, महासचिव तथा पूर्वप्रधानमन्त्री, गृहमन्त्री, मन्त्री र प्रदेशका पूर्वमुख्यमन्त्रीसमेत छन् ।
जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादव, लोकतान्त्रिक समाजवादी पार्टीका वरिष्ठ नेता राजेन्द्र महतो, नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, उपाध्यक्ष सुरेन्द्र पाण्डे, महासचिव शंकर पोखरेल र उपमहासचिव प्रदीपकुमार ज्ञवाली निर्वाचनमा पराजित भए । नेकपा एसका सम्मानित नेता तथा पूर्वप्रधानमन्त्री झलनाथ खनाल, प्रदेश १ का पूर्वमुख्यमन्त्री शेरधन राईलाई पनि यो निर्वाचन फापेन ।
नेकपा ९माओवादी केन्द्र० का महासचिव देवप्रसाद गुरुङ, उपमहासचिवद्वय गिरिराजमणि पोखरेल र पम्फा भुसाललाई प्रतिनिधि सभाको यस निर्वाचन अफापसिद्ध रह्यो ।
नेपाली कांग्रेसका सहमहामन्त्री उमाकान्त चौधरी, लोकतान्त्रिक समाजवादी पार्टी ९लोसपा० का कार्यकारिणी समिति सदस्य अनिलकुमार झा तथा गृहमन्त्री बालकृष्ण खाण, संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री र युवा तथा खेलकुदमन्त्री महेश्वरजंग गहतराज, विनाविभागीय राज्यमन्त्री उमेश श्रेष्ठ पनि निर्वाचनमा पराजित भए ।
पूर्वसभामुख ओनसरी घर्ती, पूर्वउपसभामुख पुष्पा भुसाल गौतम तथा राष्ट्रिय जनमोर्चाका उपाध्यक्ष दुर्गा पौडेलका लागि पनि यसपटकको निर्वाचन फलदायी हुन सकेन । अघिल्लो प्रतिनिधि सभा सदस्य अञ्जना विशंखे, अभिषेकप्रताप शाह, कृष्णकुमार राई, कृष्णभक्त पोखरेल, गणेश ठगुन्ना, गौरीशंकर चौधरी, गंगा चौधरी (सत्गौवा), घनश्याम भुसाल, चक्रपाणी खनाल, चित्रलेखा यादव, झपटबहादुर रावललाई निर्वाचन परिणामले निरासा तुल्यायो ।
निवर्तमान सांसद देवेन्द्रराज कँडेल नवराज सिलवाल, निरुदेवी पाल, प्रमोद साह, वृजेशकुमार गुप्ता, भरतकुमार शाह, भानुभक्त ढकाल, भीमसेनदास प्रधान, भूमिप्रसाद त्रिपाठी र महेश्वर बस्नेतका लागि निर्वाचन फलामको च्यूरा बन्यो ।
अघिल्लो प्रतिनिधि सभामा रहेका मातृकाप्रसाद यादव, मोहम्मद इस्तियाक राई, यज्ञराज सुनुवार, रघुवीर महासेठ, राजेन्द्रप्रसाद गौतम, राजेन्द्रप्रसाद श्रेष्ठ, रामकुमारी झाँक्री, रामवीर मानन्धरलाई पनि निर्वाचन कष्टप्रद रह्यो । जनता प्रगतिशील पार्टी नेपालका हृदयेश त्रिपाठीलाई पनि यस निर्वाचनले सदन प्रवेशमा धक्का लगायो ।
पूर्वमन्त्री लक्ष्मणलाल कर्ण, लालबाबु पण्डित, सुजाता कोइराला, लेखराज भट्ट, विजयकुमार गच्छदार, बीना मगर, विरोध खतिवडा, सोमप्रसाद पाण्डेय, शेरबहादुर तामाङ तथा पूर्वसांसदहरू विजय सुब्बा, विशाल भट्टराई सूर्यप्रसाद पाठक र कोमल वलीका लागि पनि यो निर्वाचन बाधक रहन पुग्यो ।
यही मंसिर ४ गते सम्पन्न प्रतिनिधि सभा र प्रदेश सभा सदस्य निर्वाचनको मतगणना जारी छ । प्रतिनिधि सभातर्फ हालसम्म एक सय ५७ निर्वाचन क्षेत्रको मतपरिणाम सार्वजनिक भएको छ । निर्वाचन आयोगका अनुसार हालसम्म कांग्रेसले ५३ स्थानमा जित निकाल्दै आफ्नो अग्रता कायमै राखेको छ ।
एमाले ४२, माओवादी केन्द्र १७, एकीकृत समाजवादी १०, राष्ट्रिय स्वतन्त्र पार्टी सात, जसपा छ, स्वतन्त्र पाँच, लोसपा पाँच र नागरिक उन्मुक्ति पार्टी तीन स्थानमा विजयी भएको छ ।