कांग्रेस नेता निधी र जनमत अध्यक्ष राउतबीच भेट, कांग्रेससँग सहकार्य गर्न राउत तयार

राष्ट्रपाटी न्युज

१४ मंसिर २०७९

काठमाडौं । नेपाली कांग्रेसका पूर्व उपसभापति विलमेन्द्र निधी र जनमत पार्टीका अध्यक्ष सिके राउतबीच भेटवार्ता भएको छ । हालै सम्पन्न निर्वाचनमा सप्तरीबाट विजयी भएका अध्यक्ष राउत र कांग्रेस नेता निधीबीच निधी निवास नयाँवानेश्वरमा भेटवार्ता भएको हो ।

बुधबार दिउँसो भएको करिब एक घण्टा लामो भेटका क्रममा निधीले निर्वाचनमा सफलता हासिल गरेकोमा राउतलाई बधाई दिएका थिए । भेटमा निधी र राउतबीच मुलुकको समसामयिक राजनीतिका विषयमा कुराकानी भएको निधीको सचिवालयले जनाएको छ।

निधीसँगको भेटमा राउतले आफ्नोबारेमा अनावश्यक भ्रम फैलाइएको बताउँदै आफू शान्ति र लोकतन्त्रमा विश्वास गर्ने प्रजातन्त्रवादी भएको र कांग्रेससँग सहकार्य गर्न तयार रहेको प्रष्ट पारेका थिए ।

भेटमा निधीले राउतलाई कांग्रेस र सत्ता गठबन्धनमा सहभागी हुन प्रस्ताव गरेका थिए । निधीको प्रस्तावमा सहमति जनाउँदै राउतले संघ र प्रदेश सरकार गठनमा सहभागी हुन आफू पूर्ण रूपमा सकारात्मक भएको जवाफ दिएका थिए ।


Published :१४ मंसिर २०७९


Copyright : © 2020-2025 All right reserved

Developed by: Abritti Media