धरान । सुनसरी क्षेत्र नम्बर ४ बाट निर्वाचित भएका नेपाली कांग्रेसका नेता एवं सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले अब पनि प्रधानमन्त्री शेरबहादुर देउवाकै नेतृत्वमा सरकार बन्ने दाबी गरेका छन् ।
निर्वाचित भएपछि सञ्चारकर्मीसँग कुराकानी गर्दै उनले सो दाबी गरेका हुन् ।
कार्कीले यस अगाडि यस क्षेत्रमा आफूले गरेको कामबाट प्रभावित भएर मतदाताले दोस्रो पटक आफूलाई निर्वाचित गराएको बताए। आगामी दिनमा आफ्नो निर्वाचन क्षेत्रको समृद्धिका लागि काम गर्ने उनको भनाइ थियो।
पाँच वर्षसम्म सुनसरीका जनताको पक्षमा गरेकाले कामको मूल्यांकन गर्दै यहाँका जनताले आफूलाई दोस्रो पटक प्रतिनिधिसभा सदस्यमा निर्वाचित गराएको बताए ।
उनले अबको पाँच वर्ष राजनीतिक स्थायित्व, दिगो आर्थिक विकास र समग्र सुनसरी क्षेत्र नम्बर ४ का विकास र यहाँका जनताको हित हुने काममा समय खर्चने प्रतिबद्धता जनाए। झिनो मतले निर्वाचित भएको विषयमा उनले यसलाई स्वभाविक रूपमा लिएको बताए ।