धनगढीमा अनिश्चितकालीन निषेधाज्ञा जारी

राष्ट्रपाटी न्युज

१५ मंसिर २०७९

धनगढी ।  जिल्ला प्रशासन कार्यालय कैलालीले धनगढीमा अनिश्चितकालीन निषेधाज्ञा जारी गरेको छ। कार्यालयले सूचना जारी गर्दै बिहीबार साँझ ७ बजेबाट अर्को निर्णय नहुँदासम्मका लागि निषेधाज्ञा जारी गरेको हो ।

ग्रेडरले च्यापिएर बिहीबार बिहान सवा १० बजे विद्यार्थीको मृत्यु भएपछि धनगढीमा तनाव उत्पन्न भएको थियो।

धनगढी उपमहानगरपालिका-५ हसनपुर पिपलचौतारा नजिकै आज बिहान ग्रेडरले कुल्चिएर पञ्चोदय माविमा कक्षा ८ मा अध्ययनरत १४ वर्षीया छात्रा चेतना साउदको मृत्युपछि विद्यार्थीहरू दिनभर आन्दोलनमा उत्रिए ।

उक्त विद्यालयका विद्यार्थीले आन्दोलन गर्दै धनगढी-स्याउले सडक अवरुद्ध पारे । उनीहरूले दिउँसो धनगढी बजारका विभिन्न ठाउमा टायर जलाउँदै सडक अवरुद्ध पारेका थिए ।

जिल्ला प्रहरी कार्यालयको गेटमा टायर बालेर नाराबाजी गरेपछि प्रहरीले ६ राउन्ड अश्रुग्यास प्रहार गरेको थियो।

आज बिहान हसनपुर पिपलचौतारा नजिकै ना १ क ९७५ नम्बरको कालिका कन्स्ट्रक्सनको ग्रेडरले लेबल मिलाउँदै ब्याक गर्ने क्रममा कुल्चिँदा धनगढी उपमहानगरपालिका-५ तारानगरकी साउदको मृत्यु भएको थियो ।

चालक चितवन भरतपुर महानगरपालिका २८ वर्षीय बिमल कुमाललाई प्रहरीले नियन्त्रणमा लिएको छ । प्रहरीले बल प्रयोग गरेर शव  सेती प्रादेशिक अस्पतालमा लगेको छ ।


Published :१५ मंसिर २०७९


Copyright : © 2020-2025 All right reserved

Developed by: Abritti Media