भोलिदेखि मेलम्चीको पानी काठमाडौँमा वितरण गरिने

राष्ट्रपाटी न्युज

मंसिर २२, २०७९

काठमाडौँ । मेलम्ची आयोजनाले काठमाडौँ उपत्यकामा भोलि  (शुक्रबार) देखि पानी वितरण गर्ने भएको छ । आयोजनाले उपत्यकाका काठमाडौं, भक्तपुर र कीर्तिपुरका मुख्य सहरमा पानी वितरण गर्ने भएको हो ।

सिन्धुपाल्चोकको हेलम्बुस्थित अम्बाथान मुहानमा गत जेठमा बन्द गरिएको सुरुङको मुखबाट ११ दिनअघि मेलम्ची खोलाको पानी प्रवेश गराइएको थियो । बाढीले मुहान क्षति गर्ने सम्भावनाका कारण सुरुङको मुख बन्द गरिएको थियो ।

मेलम्ची आयोजनाका स्रोतका अनुसार गत १८ गते काठमाडौंको सुन्दरीजलस्थित पानी प्रशोधन केन्द्रमा झरेको पानी वितरण गर्न लागिएको हो । प्रशोधित पानी बिहीबार बेलुकी महाङ्कालस्थित रिजर्भ ट्याङ्कीमा पठाउने योजना रहेको छ ।

शुक्रबार बिहान पानी औपचारिक घर–घरको धाराहरूमा पठाइनेछ । पानी सबै स्थानमा भने एकै पटक पठाइने छैन । सुन्दरीजलमा प्रशोधित पानी दुई करोड १० लाख लिटर स्टोर गर्ने क्षमता रहेको छ ।

यसको व्यवस्थापन भने काठमाडौं उपत्यका खानेपानी लिमिटेड(केयूकेएल) ले गर्नेछ । उपत्यकाको आरुवारी, जगडोल, बासबारी, बालाजु, पानीपोखरी, कीर्तिपुर र भक्तपुरको कटुन्जेलगायतका स्थानमा पानीको रिजर्भ गरेर वितरण गर्ने संरचना रहेको छ ।

शुक्रबार बिहान खानेपानीमन्त्री उमाकान्त चौधरीको उपस्थितिमा पानी वितरण सुरु गर्ने आयोजनाले जानकारी दिएको छ । २०७८ असारको बाढीले क्षतविक्षत भएको मेलम्चीको हेडवर्क्सलाई अस्थायी रुपमा व्यवस्थापन गरेर पानी ल्याइएको हो । हेडवर्क्सलाई स्थायी संरचनाको रुपमा कसरी निर्माण गर्ने योजना बनिसकेको छैन ।

हाल मेलम्चीबाट दैनिक १७ करोड लिटर पानी काठमाडौं ल्याउने तयारी छ । यसपछि दोस्रो फेजमा सिन्धुपाल्चोककै याङ्ग्री र लोर्के खोलाबाट १७-१७ करोड लिटर पानी राजधानी ल्याउने योजना रहेको छ ।


Published :मंसिर २२, २०७९


Copyright : © 2020-2025 All right reserved

Developed by: Abritti Media