उपत्यकाको खानेपानी समस्या दीर्घकालीनरुपमा समाधान गर्ने मन्त्री चौधरीको दाबी

राष्ट्रपाटी न्युज

२३ मंसिर २०७९

काठमाडौँ । खानेपानी मन्त्री उमाकान्त चौधरीले उपत्यकाको खानेपानी समस्याको दीर्घकालीनरुपमा समाधान गरिने बताएका छन् ।

महाँकालचौरमा आज भएको तेस्रो चरणको मेलम्ची खानेपानी पुनः वितरण कार्यक्रममा मन्त्री चौधरीले काठमाडौँमा अस्थायीरुपमा भए पनि १२ महिना नै पानी वितरण गर्ने दाबी गरे ।

“हामीले पटक–पटक पानी पुनः वितरण गर्नु नपरोस्, हामीले यसलाई दीर्घकालीनरुपमा समाधान गर्नेछौँ”, उनले भने । उनले विज्ञहरुको सल्लाह सुझाव लिएर विगतमा पानी बन्द गरिएको र अहिले बर्षात सकिएपछि पानी वितरण गरिएको बताए ।

वाग्मतीको पानी मेलम्चीको ट्रिटमेन्ट प्लान्टमा ल्याएर वितरण गरेको स्मरण गर्दै मन्त्री चौधरीले विकल्पको रुपमा याङ्ग्री, लार्के, सिस्नेरी, महादेव र ठोस्ने खोला निरीक्षण गरेर मेलम्चीको विकल्पको रुपमा पानी खान सकिने धारणा राखे ।

त्यसको लागि आफ्नै कार्यकालमा यसको काम अगाडि बढ्ने उनको भनाइ थियो। खानेपानी मन्त्रालयका सचिव मणिराम गेलालले बाढीको कारणले बाटोमा समस्या भएका कारण पानी पुनः वितरण कार्यमा केही ढिला भएको जानकारी दिए ।

उनले आगामी दिनमा मेलम्ची खानेपानी विगतमा जस्तो बर्सात लाग्ने समय भयो भनेर ज्येष्ठमा बन्द गर्नुपर्ने र हिउँद पर्खेर पानी पुनः खोल्नुपर्ने समस्याको दीर्घकालीनरुपमा समाधान गरिने बताए। उनले खानेपानीका लागि तत्काल गर्नुपर्ने कुनै पनि काममा मन्त्रालय सहयोग गर्न सधैँ तयार रहेको जानकारी दिए ।

 


Published :२३ मंसिर २०७९


Copyright : © 2020-2025 All right reserved

Developed by: Abritti Media