प्रधानमन्त्री बन्न राजनीतिक भेटघाटलाई तीव्र बनाउँदै प्रचण्ड

राष्ट्रपाटी न्युज

२५ मंसिर २०७९

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) ले सम्भावित सत्ता समिकरणबारे वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ, पूर्व सभामुख अग्नी सापकोटा, नेपाल समाजवादी पार्टीका अध्यक्ष महेन्द्र राय यादवसँग छलफल गरेका छन् । पछिल्लो समय आफैं प्रधानमन्त्री बन्ने कसरतमा जुटेका प्रचण्ड सत्ता समिकरण निर्माणको आन्तरिक गृहकार्यमा जुटेका हुन् ।

प्रचण्ड सकेसम्म वर्तमान सत्ता गठबन्धनको समर्थनमा प्रधानमन्त्री बन्ने, नत्र एमाले र साना दलको समर्थनमा प्रधानमन्त्री बन्ने मनस्थितिमा रहेको माओवादी केन्द्रका एक उच्च नेताले बताए ।

खुमलटारमा आइतबार बिहान भएको भेटमा पनि एमालेको समर्थनमा प्रचण्डलाई प्रधानमन्त्री बनाउन सम्भावित समिकरणबारे समेत छलफल भएको स्रोतले जनाएको छ ।

शनिबार बेलुका एमाले पोलिटब्यूरो सदस्य महेश बस्नेतले प्रचण्डलाई भेटेर एमालेको समर्थनमा प्रधानमन्त्री बन्ने आग्रह गरेको स्रोतको भनाइ छ । बस्नेतले प्रचण्डलाई वाम गठबन्धनकै सरकार निर्माणमा गृहकार्यमा लाग्न समेत आग्रह गरेका थिए ।

अहिले भित्रभित्रै माओवादी केन्द्रकै नेतृत्वमा सरकार बनाउने गरी माओवादी नेताहरुले भेटघाट तीब्र पारेका छन् ।

नेपाल समाजवादी पार्टीको अध्यक्षसमेत रहेका यादव माओवादी केन्द्रको चुनाव चिन्ह लिएर निर्वाचित भएका हुन् । उनी कांग्रेससँग लोसपाले गठबन्धन गरेको लोसपाका राजेन्द्र महतोलाई पराजित गर्दै सर्लाही क्षेत्र नं २ मा यादव प्रतिनिधि सभा सदस्य बनेका छन् । भेटमा यादवले प्रचण्डको प्रस्तावलाई सकारात्मक रुपमा लिएको जवाफ दिएका थिए ।

प्रचण्डले बिहीबार बिहान स्वतन्त्रबाट निर्वाचित सांसद प्रभु शाहसँग पनि भेट गरेका थिए । त्यस अगाडि प्रचण्डले जेलमा रहेका रेशम चौधरी, जनमत पार्टीका अध्यक्ष एवम् सांसद सिके राउतसँग पनि भेटवार्ता  गरिसकेका छन् ।

प्रचण्डले नेकपा विवाद भएपश्चात् कांग्रेसका सभापति शेरबहादुर देउवालाई आफ्नै जोडमा प्रधानमन्त्री बनाएकाले निर्वाचनपश्चात् पहिलो चरणमा आफूलाई प्रधानमन्त्री बनाउन कांग्रेस नेताहरुलाई समेत आग्रह गर्दै आएका छन् । प्रचण्डले आफू प्रधानमन्त्री बन्न लबिङ गर्न थाले पनि उनलाई प्रधानमन्त्री बन्न चुनौती देखिएको छ ।


Published :२५ मंसिर २०७९


Copyright : © 2020-2025 All right reserved

Developed by: Abritti Media