सर्वोच्चले मागेको प्रश्नको जवाफ अहिले दिनुपरेनः संसद सचिवालय 

राष्ट्रपाटी न्युज

मंसिर २५, २०७९

काठमाडौं । सर्वोच्च अदालतले निलम्बित प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराविरुद्धको महाअभियोग प्रस्ताव निष्प्रभावी भएको पठाएको पत्रबारे सोधेको प्रश्नको अहिले जवाफ दिनुनपर्ने संघीय संसद् सचिवालयले बताएको छ ।

निलम्बित प्रधानन्याधीश जबराविरुद्ध दर्ता भएको महाअभियोग प्रस्ताव निष्प्रभावी भएको भन्ने संघीय संसद सचिवालयको सर्वोच्च अदालतसहित राष्ट्रपति कार्यालय, प्रधानमन्त्री कार्यालय, संवैधानिक परिषद्लाई पत्र पठाएको थियो ।

संघीय संसद सचिवालयका महासचिव भरतराज गौतमले जबराविरुद्धको महाअभियोग प्रस्ताव निष्प्रभावी भएको पत्र पठाएपछि सोही दिन बसेको सर्वोच्चको पूर्ण बैठकले पत्राचार गर्दै थप जिज्ञासा राखेको थियो ।

यसपछि महासचिव गौतमको उक्त पत्र बदरविरुद्ध परेको रिटमा सर्वोच्च अदालतले उक्त पत्र कार्यान्वयन नगर्ने/नगराउन र अन्तरिम आदेश जारी गर्दै संघीय संसद सचिवालयसँग जवाफ मागेको थियो ।

सर्वोच्चको अन्तरिम आदेशसँगै जवाफ मागेबारे पूर्ण बैठकको निर्णयानुसार सोधेको जवाफ दिइरहनुपरेन भन्दै महासचिव गौतमले सर्वोच्चलाई पत्राचार गरेका छन् ।

‘संघीय संसदका महासचिवको जानकारी सम्बन्धी पत्र सम्मानित सर्वोच्च अदालतको संवैधानिक इजलासबाट सर्वोच्च अदालतको, संवैधानिक इजलासबाट मिति २०७९ मंसिर २३ गते कार्यान्वयन नगर्न नगराउन अन्तरिम आदेश भइसकेको र सो सम्बन्धमा संघीय संसदका महासचिवले ७ दिनभित्र लिखित जवाफ दिनुपर्ने आदेश भएकोले सर्वोच्च अदालतको पूर्ण बैठकको २०७९/०८/२१ निर्णानुसार सोधिएका विषयहरुको जानकारी पनि अन्तरिम आदेशको लिखित जवाफको क्रममा समावेश हुने व्यहोरा पूर्ण बैठक समक्ष सादर अनुरोध गर्दछु,’ महासचिव गौतमले सर्वोच्चलाई लेखेको पत्रमा उल्लेख गरिएको छ ।

 


Published :मंसिर २५, २०७९


Copyright : © 2020-2025 All right reserved

Developed by: Abritti Media