सबैलाई सहज वातावरण सिर्जना गर्नका निम्ति अध्यादेश ल्याइएको सरकारको दाबी

राष्ट्रपाटी न्युज

२६ मंसिर २०७९

काठमाडौं । सरकारले मुलुकलाई आन्तरिक एकताका लागि सहज वातावरणमा सबैलाई काम गर्न दिने मनशायका साथ आजीवन कारावासको सजाय भोगिरहेका रेशम चौधरीसहितका नेता, कार्यकर्तालाई रिहाई गर्नेगरी अध्यादेश ल्याएको प्रष्ट पारेको छ ।

सोमवार मन्त्रिपरिषद्का निर्णय सुनाउने क्रममा सञ्चारकर्मीहरुको प्रश्नको जवाफ दिँदै सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले यस्तो बताएका हुन् ।

उनले मुलुकलाई आन्तरिक एकताका साथ सहज वातावरणमा सबैलाई काम गर्न दिने मनशायका साथ मुलुकको राजनीतिक प्रणालीसँग असहमत रही हिंसात्मक क्रियाकलापमा संलग्न राजनैतिक दल वा समूहलाई शान्तिपूर्ण राजनीतिको मूल धारमा ल्याउने उद्देश्यका साथ यो अध्यादेश राष्ट्रपतिसमक्ष सिफारिस गरेको बताए ।

उनले यस किसिमका अध्यादेश योभन्दा अघिका सरकारले पनि जारी गरेको भन्दै मन्त्री कार्कीले अहिलेको आवश्यक्तालाई केन्द्रमा राखेर मुलुकलाई योगदान गर्न चाहने सबैलाई सहज वातावरण सिर्जना गर्नका निम्ति अध्यादेश ल्याएको बताए ।

मन्त्री कार्कीले मुलुकलाई अहिले शान्ति चाहिएकाले सबैको सहयोग र योगदान रहोस् भन्ने उद्देश्यले अध्यादेश ल्याइएको बताए ।


Published :२६ मंसिर २०७९


Copyright : © 2020-2025 All right reserved

Developed by: Abritti Media