काठमाडौं । निर्वाचन आयोगले बिहीबार निर्वाचन परिणामको प्रतिवेदन राष्ट्रपति विद्यादेवी भण्डारीलाई बुझाउने भएको छ । प्रमुख आयुक्त दिनेश कुमार थपलियाले पत्रकार सम्मेलनमार्फत् भोली निर्वाचन परिणामको अन्तिम प्रतिवेदन राष्ट्रपतिसमक्ष पेश गर्ने बताएका हुन् ।
थपलियाले भने, ‘आयोगले प्रतिनिधिसभाको पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणाली र समानुपातिक निर्वाचन प्रणालीतर्फको निर्वाचन परिणामसहितको प्रतिवेदन निर्वाचनको नतिजा घोषणा भएको सात दिनभित्र राष्ट्रपतिसमक्ष र प्रदेशसभाको हकमा प्रदेश प्रमुखसमक्ष पठाउनुपर्ने प्रावधानबमोजिम २०७९ मंसिर २९ गते सम्माननीय राष्ट्रपतिज्यूसमक्ष प्रतिनिधिसभा सदस्य निर्वाचन २०७९ को परिणामसहितको प्रतिवेदन प्रस्तुत गर्ने कार्यक्रम रहेको छ । ’
निर्वाचन आयोगले निर्वाचनको अन्तिम नतिजाको परिणाम राष्ट्रपतिसमक्ष बुझाएपछि नयाँ सरकार गठनको बाटो खुल्नेछ। पुस २ गते प्रदेशसभा सदस्य निर्वाचन २०७९ को परिणामसहितको प्रतिवेदन सार्वजनिक गर्ने कार्यक्रम छ।
प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचन २०७९ को प्रतिवेदन पठाइसकेपछि निर्वाचित सदस्यहरूको नामावली नेपाल राजपत्रमा प्रकाशित गरिने आयोगले जनाएको छ । यस्तै आयोगले पुस ३ गते प्रतिनिधिसभा र प्रदेशसभाका निर्वाचित सांसदहरुलाई प्रमाणपत्र उपलब्ध गराउने जनाएको छ ।