सत्ता समीकरण मिलाउने दौडमा प्रचण्ड, बाबुराम र बालकृष्णसँग भेटवार्ता

राष्ट्रपाटी न्युज

मंसिर २९, २०७९

काठमाडौं । सत्ता समीकरण र आगामी रणनीति तय गर्न केही दिनदेखि दौडधूपमा लागेका नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकल दाहाल (प्रचण्ड) ले आज बिहान नेपाल समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराई, गृहमन्त्री बालकृष्ण खाँणसँग छुट्टाछुट्टै भेटवार्ता गरेका छन् ।

उनीहरुबीच सत्ता समिकरण र गठबन्धनको भूमिकाका विषयमा छलफल भएको खुमलटार स्रोतले जनाएको छ । भेटमा माओवादी केन्द्रका नेता हितमान शाक्यसमेत थिए।

पछिल्लो समय आफैं प्रधानमन्त्री बन्ने कसरतमा जुटेका प्रचण्ड सत्ता समीकरण निर्माणको आन्तरिक गृहकार्यलाई तीब्र पारेका छन् । मंसिर १९ गते बालुवाटारमा बसेको सत्ता गठबन्धन बैठकले वर्तमान गठबन्धनबाट सरकार बनाउने निर्णय गरेको थियो । अहिले माओवादी केन्द्रकै नेतृत्वमा पहिलो चरणमै सरकार बनाउने गरी भित्रभित्रै माओवादी नेताहरुले भेटघाट तीब्र पारेका छन् ।

प्रचण्डले नेकपा विवाद भएपश्चात कांग्रेसका सभापति शेरबहादुर देउवालाई आफ्नै जोडमा प्रधानमन्त्री बनाएकाले निर्वाचन पश्चात पहिलो चरणमा आफूलाई प्रधानमन्त्री बनाउन कांग्रेस नेताहरुलाई समेत आग्रह गर्दै आएका छन् । प्रचण्डले आफू प्रधानमन्त्री बन्न लबिङ गर्न थाले पनि उनलाई प्रधानमन्त्री बन्न सकस देखिएको छ।

निर्वाचन आयोगले निर्वाचनको प्रतिवेदन आज बिहान राष्ट्रपति विद्यादेवी भण्डारी समक्ष बुझाएपछि नयाँ सरकार गठनको बाटो खुलेको छ। सरकारले प्रतिनिधिसभा बैठक आव्हान गर्न मिति तोकेर राष्ट्रपतिलाई सिफारिस गरेपछि राष्ट्रपतिले संसद् बैठकको आह्वान गर्ने प्रावधान छ ।


Published :मंसिर २९, २०७९


Copyright : © 2020-2025 All right reserved

Developed by: Abritti Media