काठमाडौं । काठमाडौं महानगरपालिकाले बिहीबार २८ औँ स्थापना दिवस मनाएको छ।
महानगरका मेयर बालेन शाहको प्रमुख अध्यक्षतामा र सहरी विकासमन्त्री मेटमणि चौधरीको प्रमुख आतिथ्यमा विविध कार्यक्रम गरी स्थापना दिवस मनाइएको हो।
मन्त्री चौधरीले महानगरपालिकासँग समन्वय गरेर सहरी विकासका लागि नीतिगत सहयोग गर्ने बताए।
चौधरीले भने,’सहरी विकास मन्त्रालयले महानगरपालिकासँग समन्वय गरेर सहरी सौन्दर्य, सहरी स्वास्थ्य र सहरी वातावरण निर्माणमा नीतिगत सहयोग गर्न प्रतिबद्ध छौं। हामी सधैं सहकार्य गर्न तयार छौं।’
‘सांस्कृतिक सहर काठमाडौं महानगर’ भन्ने मूल नाराका साथ मनाइएको स्थापना दिवसको अवसरमा महानगरले आयोजना गरेको विविध कार्यक्रममा उत्कृष्ट हुनेहरुलाई पुरस्कृत गरिएको छ।
यस्तै, महानगरपालिकाको वृहत्तर विकासमा योगदान पुर्याएको भन्दै विभिन्न व्यक्तित्वहरुलाई कदरपत्रसहित सम्मान गरिएको छ।
सफाइ अड्डाबाट सुरु भएको महानगरपालिका वि.स. २०५२ साल मंसिर २९ गते मात्रै महानगरपालिका घोषणा भएको थियो । त्यही दिनको सम्झनामा हरेक वर्ष मंसिर २९ का दिन महानगर दिवस मनाउँदै आइरहेको छ ।