युक्रेनी ऊर्जा केन्द्रमा रूसका ७६ मिसाइल आक्रमण

किभ । रूसले शुक्रबार युक्रेनका धेरै सहरमा ७६ मिसाइल आक्रमण गरेको छ । युक्रेनले पछिल्लो आक्रमणमा आफ्ना ९ वटा ऊर्जा केन्द्रमा क्षति पुगेको बताएको छ । ऊर्जा केन्द्रमा भएको आक्रमणसँगै देशको ऊर्जा वितरण आधाभन्दा बढीले घटाएको ।

युक्रेनी सेना प्रमुखले रूसले ७६ वटा क्षेप्यास्त्र प्रहार गरेको र त्यसमध्ये अधिकांश क्रुज मिसाइल रहेको बताएका छन् । युक्रेनले यीमध्ये ६० वटालाई रोकेको थियो। युक्रेनले हालसम्म यी आक्रमणहरूबाट मध्य युक्रेन र दक्षिणमा खेरसानमा तीन नागरिकको मृत्यु भएको पुष्टि गरेको छ। ‘आक्रमणबाट भएको क्षति महत्त्वपूर्ण छ । ऊर्जामा मुख्य सरकारी एजेन्सीले ५० प्रतिशत बिजुली ग्रिड प्रभावित भएको बताएको छ,’ युक्रेनका रक्षा मन्त्रीका सल्लाहकार युरी साकले भने ।

उनले भने, ‘मर्मतको काम द्रुत गतिमा भइरहेको छ । तर, त्यहाँ धेरै सहरहरू छन् जुन नराम्ररी प्रभावित भएका छन् । राजधानी किभका धेरै भागहरूमा आपत्कालीन बिजुली कटौती गरिएको छ ।’ खार्किव र अन्य धेरै क्षेत्रमा विद्युत् आपूर्ति पूर्ण रूपमा बन्द भएको छ ।

आपत्कालीन सेवाहरू काम गरिरहे पनि अवस्था अझै मुस्किल रहेको उनले बताए । विगतको तुलनामा युक्रेनमा रूसको आक्रमण बढेको छ र उसले युक्रेनको आवासीय क्षेत्र र ऊर्जा पूर्वाधारमा आक्रमण गरेको छ । (एजेन्सी)


Published :पुस २, २०७९


Copyright : © 2020-2025 All right reserved

Developed by: Abritti Media