प्रधानमन्त्री देउवाले बोलाए पार्टीबाट निर्वाचित सांसदहरूलाई बालुवाटार

काठमाडौं । नेपाली कांग्रेसका सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवाले कांग्रेसबाट निर्वाचित सांसदहरूलाई बालुवाटार बोलाएका छन् ।

नेपाली कांग्रेसमा संसदीय दलको नेता चयनको तयारी भइरहँदा सभापति देउवाले नवनिर्वाचित सांसदलाई बालुवाटार डाकेका हुन् ।

उनले पार्टीका निर्वाचित प्रतिनिधिसभा सदस्यहरूलाई बधाई दिन आज (शनिबार) दिउँसो ३ बजे बालुवाटारमा बोलाएको मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए ।

बधाई ज्ञापनका लागि भनिए पनि बालुवाटारको भेलालाई संसदीय दलको नेताको चुनावको तयारीका रूपमा हेरिएको छ । यस क्रममा सरकार गठनका लागि भइरहेका प्रयासलगायत सांसदको भूमिकाबारे कुराकानी हुने बताइएको छ ।

यस्तै राष्ट्रपति विद्यादेवी भण्डारीले नयाँ सरकार गठनका लागि राजनीतिक दलहरूलाई बहुमत लिएर आउन आह्वान गर्ने तयारी गरिरहेका बेला सभापति देउवाले सांसदहरूलाई बालुवाटार बोलाएका हुन् ।


Published :२ पुष २०७९


Copyright : © 2020-2024 All right reserved

Developed by: Abritti Media