काठमाडौं । नेपाली कांग्रेसका नवनिर्वाचित सांसदहरूले कांग्रेसकै नेतृत्वमा नयाँ सरकार बनाउन सभापतिसमेत रहेका प्रधानमन्त्री शेरबहादुर देउवालाई दबाब दिएका छन् । शनिबार बालुवाटारमा आयोजित चियापन कार्यक्रममा नवनिर्वाचित सांसदहरूले प्रधानमन्त्री देउवालाई यस्तो दबाब दिएका हुन् ।
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफ्नो नेतृत्वमा सरकार गठन हुनुपर्ने बताइरहँदा कांग्रेस सांसदहरूले निर्वाचनबाट पहिलो दल बनेको कांग्रेसले पहिले सरकारको नेतृत्व गर्न पाउनुपर्ने बताए ।
‘प्रचण्डजीले प्रधानमन्त्री दाबी गर्नुभएको छ । यसलाई हामीले स्वभाविकरूपमा लिएका छौं । तर ठूलो दलको हैसियतले कांग्रेस नेतृत्व पाउनु उपयुक्त हुन्छ,’ पार्टी प्रवक्ता प्रकाशशरण महतले भने ।
उनले गठबन्धनभित्र अन्य दलहरू भएकाले दाबी विरोध हुनु स्वाभावित भएको बताए । ‘धेरै दल सम्बद्ध भएपछि पदका लागि दाबी पेस गर्नु स्वाभाविक हुरा हो। तर जनताले कांग्रेसलाई ठूलो दल बनाएको छ । सरकारको नेतृत्व पनि पहिले कांग्रेसले पाउनुपर्छ,’ उनले भने ।