सांसदहरुको सपथ ग्रहण नगराई सरकार गठन गर्नु उल्टो बाटोः माओवादी

काठमाडौं । सत्ता गठबन्धनमा आबद्ध दोस्रो ठूलो दल नेकपा माओवादी केन्द्रले नवनिर्वाचित सांसदको सपथ ग्रहण गरेरमात्र सरकार गठनलगायतका प्रक्रिया अघि बढाइनुपर्ने जनाएको छ ।

पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा आज बसेको पदाधिकारी बैठकले सांसदहरूको सपथग्रहण हुनुपर्ने निष्कर्ष निकालेको अध्यक्ष पुप्पकमल दाहाल प्रचण्डले जानकारी दिए ।

यसैबीच माओवादी अध्यक्ष प्रचण्डले निर्वाचित सांसदहरुको सपथग्रहण अगावै सरकार गठन प्रक्रिया अगाडि बढाउन नमिल्ने बताएका छन् ।

पार्टीको पदाधिकारी बैठकपछि एक कार्यक्रममा आफ्नो धारणा राख्दै अध्यक्ष दाहालले प्रतिनिधिसभाका सबै सदस्यहरुको सपथ ग्रहणपछि मात्रै सरकार गठन प्रक्रिया अघि बढाउनुपर्ने बताएका हुन् ।

निर्वाचित सांसदहरुको सपथग्रहण बिना नै सरकार गठन प्रक्रिया अघि बढाउनु भनेको उल्टो प्रक्रिया हुने भन्दै त्यसतर्फ सम्बन्धित निकायको ध्यानाकर्षण गराए । उनले सांसदहरुको शपथ ग्रहण नहुँदै सरकार गठन गर्ने विषय विगतमा पनि भएको र त्यही उल्टो प्रक्रिया नजिर जस्तो बन्न गएको उल्लेख गर्दै उनले त्यसो गर्नु गलत हुने दाबी गरे ।

उता राष्ट्रपति विद्यादेवी भण्डारीले भने नयाँ सरकार गठनका लागि आह्वान गर्नुभएको छ । राष्ट्रपतिले ७ दिनको समय दिएर आइतबार नयाँ सरकार गठनका लागि आह्वान गर्नुभएको छ ।


Published :३ पुष २०७९


Copyright : © 2020-2025 All right reserved

Developed by: Abritti Media