काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोखरेलले मुलुकलाई नीति, विचार, लक्ष्य र उद्देश्यबिहीन दिशातर्फ अघि बढाउने दुष्प्रयास भइरहेको बताएका छन् ।
मंगलवार नेकपा एमालेले बोलाएको नवनिर्वाचित सांसदहरुसँगको भेटघाट कार्यक्रममा बोल्दै उनले यस्तो दाबी गरेका हुन् । उनले तत्कालीन नेकपा भएको बेलामा कम्युनिष्ट आन्दोलनलाई समाप्त पार्ने षड्यन्त्रलाई चिर्न जनतामा जाने फैसलालाई सफल बनाउन नदिइएको बताए । तत्कालीन अवस्थामा नै जनतामा जाने फैसलालाई कार्यान्वयन गरेको भए आजसम्म मुलुकले विकास र समृद्धिको बाटो समातिसकेको हुने बताए ।
उनले अहिले मुलुकको संघीय लोकतान्त्रिक गणतन्त्र नै संकटमा पर्ने खालका गतिविधिहरु भइरहेको बताए । महासचिव पोखरेलले चुनावपछि मुलुकको राजनीतिमा शुरु भएका अस्थिरताका खेलहरुले नेकपा एमालेले अघि सारेका मान्यताहरु सही साबित गरिदिएको बताए । उनले राष्ट्रिय राजनीतिमा नेकपा एमाले बलियो शक्तिका रुपमा स्थापित भइरहेको पनि बताए ।
महासचिव पोखरेलले सबै दलहरु मिलेर पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई घेराबन्दी गरे पनि जनताले लोकप्रिय मतका साथ आफ्नो नेतामा ओलीलाई नै चुनेको बताए ।