कांग्रेसमा युवापुस्ता कति बलियो ? थापाले सक्लान् त देउवालाई रोक्न ?

काठमाडौं । प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई भोलि हुने संसदीय दलको निर्वाचनमा कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलसहित चार नेताको साथ रहेको कांग्रेस नेताले दाबी गरेका छन् ।

एक वर्ष अघि भएको पार्टीको १४ औँ महाधिवेशनमा देउवासँगै सभापतिमा प्रतिस्पर्धा गरेका प्रकाशमान सिंह र विमलेन्द्र निधिले सभापति देउवालाई साथ दिने बताइसकेका छन् । साथै वरिष्ठ नेता रामचन्द्र पौडेल भने संसदीय दलको नेतामा देउवाको उम्मेदवारीको प्रस्तावक नै रहेका छन् ।

यता कांग्रेसका केन्द्रीय सदस्य एवं नेपाली कांग्रेसका संस्थापक नेता वीपी कोइरालाका छोरा शशाङ्क कोइरालाले पनि आफू सभापति देउवाका साथमा रहेको बताएका छन् । उनले हालै एक सार्वजनिक कार्यक्रममा मुलुक हाँक्न अनुभवी तथा परिपक्व नेता आवश्यक रहेकाले देउवा नै संसदीय दलको नेता चुनिने बताएका थिए ।

उनहरुको साथले सभापति देउवा संसदीय दलको नेता निर्वाचित हुने निश्चित भएको प्रधानमन्त्री देउवाका प्रेस प्रमुख गोविन्द परियारले बताए ।

साथै नेपाली कांग्रेसमा पार्टीको सभापति नै संसदीय दलको नेता हुने प्रचलन पनि रही आएको छ । विगतमा एकपटक पार्टी सभापति र संसदीय दलको नेता फरक–फरक व्यक्ति हुँदा पार्टीमा विभाजन नै आएकाले यसखालको द्वन्द्व सिर्जना नहोस् भनेर पनि सभापति नै संसदीय दलको नेता हुनुपर्ने धारणा अधिकांश सांसदको रहेको छ ।
यता देउवासँग संसदीय दलको नेताको प्रतिस्पर्धाका लागि महामन्त्री गगनकुमार थापाले उम्मेदवारी दिएका छन् ।

इतर समूहमा दुई दिन चलेको छलफलपछि गगन थापालाई संसदीय दलको नेताको रुपमा अघि सार्ने निर्णय भएको हो । थापालाई कांग्रेसका प्रभावशाली युवा नेताहरूको समेत समर्थन देखिएको छ । संस्थापन इतर पक्षबाट पार्टी सभापति देउवाविरुद्ध उम्मेदवार बनेका थापालाई अर्का महामन्त्री विश्वप्रकाश शर्माले समर्थन गरेका छन् ।

कांग्रेसका प्रदीप पौडेल, मिनेन्द्र रिजालसमेतले थापालाई साथ दिएका छन् । मिनेन्द्र भने सांसद होइनन् । तर, उनी निकट सांसदहरूसँग गगनको पक्षमा मत मागिरहेका छन् ।

कांग्रेसमा पुस्तान्तरणको आवाज उठिरहेका बेला युवा नेताहरूमा समेत कांग्रेस परिवर्तनको हुटहुटी देखिएको छ । यद्यपि, संसदीय दलमा सभापति देउवाको बहुमत रहेको आँकलन छ । कांग्रेसभित्रैका नेताहरुसमेत गगनको संसदीय दलको नेता बन्नेभन्दा पनि आन्दोलनभित्रको रहर अनि वाध्यता दुबै भएको बताउन थालेका छन् ।

बदलिएको समय र सोच बमोजिम काँग्रेसलाई आन्तरिक रुपान्तरणको दिशामा लैजानुपर्नेमा अर्का महामन्त्री विश्वप्रकाश शर्माले बताएका छन् । चुनावअघि नै गगनको पक्षमा बोल्दै आएका शर्मा यतिबेला खुलेर शेखर–गगन समूहमा लागेका छन् ।

उनले बदलिएको समय, बदलिएको सोच बमोजिम काँग्रेसलाई आन्तरिक रुपान्तरणको दिशामा जाने गर्व र खुड्किलोको रुपमा पार्टीका नेता डा. शेखर कोइरालाले युवामा सत्ता पुस्तान्तरणका लागि महामन्त्री थापालाई संसदीय दलको नेताको रुपमा प्रश्तावक गर्नु गर्वको विषय भएको समेत बताए ।

उनले संसदीय दलको नेता बनिसकेर देशलाई नेतृत्व गर्ने भन्ने आकांक्षा सबैमा हुने गरेको भन्दै सत्ता पुस्तान्तरणको पहिलो खुड्किलोको सुरुवात डा. कोईरालाले गरेको बताएका थिए ।

तत्कालीन अंकगणित हेर्दा बलियो देखिएका देउवालाई पराजित गरेर गगनले जित्नेमा इतर पक्ष नै विस्वस्त छैन । तर, गोप्य चुनाव भएकाले यसै भन्न सक्ने अवस्था नभएको उनीहरु बताउँछन् ।

कांग्रेसले गत चुनावमा प्रत्यक्षमा ५७ सिट जितेको छ भने समानुपातिकमा ३२  गरी कुल सांसद ८९ छन् । कांग्रेसमा पुस्तान्तरणको आवाज उठिरहेका बेला युवा नेताहरूमा समेत कांग्रेस परिवर्तनको हुटहुटी देखिएकाले यसै भन्न नसकिने कांग्रेस नेताहरुको भनाइ छ ।

कांग्रेस संसदीय दलको नेताको निर्वाचन भोलि बुधबार बिहान ८ बजे कांग्रेस संसदीय दलको कार्यालय सिंहदरबारमा हुने भएको छ ।

दलको नेतामा सभापति देउवा र कांग्रेस महामन्त्री थापाको उम्मेदवारी परेको छ ।


Published :५ पुष २०७९


Copyright : © 2020-2024 All right reserved

Developed by: Abritti Media