सरकारको नेतृत्वमा आलोपालो गर्ने गोप्य सहमति भए स्वीकार्य हुँदैनः गगन थापा

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले सरकारको नेतृत्वमा आलोपालो गर्ने गोप्य सहमति भए स्वीकार्य नहुने बताएका छन् ।

संसदीय दलको मतपरिणाम सार्वजनिक भएपछि सञ्चारकर्मीसँग कुरा गर्दै थापाले बन्द र अँध्यारो कोठामा गरिने सहमति नेपाली कांग्रेसले बोक्न नसक्ने बताएका हुन् ।

उनले भने,’ कांग्रेसले संस्थागतरुपमा कुनै दलसँग आलोपालो सहमति गरे स्वीकार्य हुन्छ । तर, गोप्यरुपमा सहमति भएमा पार्टीले त्यसलाई बोक्न सक्दैन । भोलि कांग्रेसले धोका दियो भनेर कसैले भन्न पाउँदैन ।’

थापाले पार्टीभित्र राष्ट्रपति,प्रधानमन्त्रीलगायत विभिन्न पदमा छलफल गरेर पारदर्शी ढंगले अगाडि बढ्नुपर्नेमा जोड दिए । पार्टीको संसदीय दल र आधिकारिक समितिबेगर छलफल भए त्यो व्यक्तिगत हुने उनको भनाइ छ।

उनले आजबाट नेपाली कांग्रेसको नेतृत्वमा सरकार बनाउने पहल गर्ने बताए । महामन्त्री थापा कांग्रेस संसदीय दलको नेतामा पार्टी सभापति देउवासँग पराजित भएका छन् । देउवाले ६४ मत ल्याउँदा गगनले २५ मत प्राप्त  गरे ।


Published :६ पुष २०७९


Copyright : © 2020-2024 All right reserved

Developed by: Abritti Media