अर्थमन्त्री शर्माले प्रधानमन्त्री देउवासँग भने- गठबन्धन जोगाउन प्रचण्डलाई प्रधानमन्त्री बनाऔँ

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवा र अर्थमन्त्री जनार्दन शर्माबीच भेटवार्ता भएको छ । संसदीय दलको नेतामा चयन भएलगत्तै देउवालाई बधाइ दिन बालुवाटार पुगेका अर्थमन्त्री शर्माले सत्ता समीकरणका विषयमा पनि छलफल गरेका छन् ।

यही गठबन्धनलाई जोगाउँदै नयाँ सरकार बनाउनुपर्ने अर्थमन्त्री शर्माले प्रधानमन्त्री देउवालाई सुझाव दिएका थिए । त्यसका लागि उनले माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई पहिले सरकारको नेतृत्व दिनुपर्ने आग्रह गरे ।

‘आलोपालो गर्ने विषयमा तपाइँ र हाम्रोबीच राम्रो अन्डरस्ट्यानिङ छ। तपाइँ पहिलो कार्यकाल प्रधानमन्त्री बन्नुभयो । अब माओवादीलाई नेतृत्व सुम्पिनुस् । त्यसपछि फेरि तपाइँको पालो त छँदैछ,’ अर्थमन्त्री शर्माको भनाइ उद्धृत गर्दै स्रोतले भन्यो ।

संसदको दोस्रो ठूलो दल नेकपा एमालेले औपचारिकरूपमै प्रधानमन्त्रीको प्रस्ताव गरेपछि प्रचण्डले दूतका रूपमा शर्मालाई बालुवाटार पठाएका हुन् । प्रचण्डले देउवाको राय बुझ्न दूत पठाएको माओवादी नेताहरूको ठम्याइ छ।

‘माओवादी गठबन्धनलाई निरन्तरता दिन चाहन्छ । तर त्यससँगै पहिले सरकारको नेतृत्व पनि दाबी गर्छ,’ माओवादीका एक नेताले भने, ‘गठबन्धन बाहिर गएर पनि माओवादीले सरकारको नेतृत्व गर्ने अवसर पाइरहेको छ । तर हामी यही गठबन्धनमार्फत् सरकारको नेतृत्व गर्न चाहन्छौं ।’

एमाले उपाध्यक्ष सुवास नेम्वाङले मंगलबार खुमलटार पुगेर प्रचण्डलाई प्रधानमन्त्रीमा प्रस्ताव गरेका थिए । माओवादी अध्यक्ष प्रचण्डले पनि प्रधानमन्त्री बन्ने ठूलो आकांक्षा राखेका छन् । उनले सार्वजनिक कार्यक्रमहरूमा पनि आफू देशको प्रधानमन्त्री बन्ने उद्घोष गर्दै आएका छन् ।


Published :६ पुष २०७९


Copyright : © 2020-2024 All right reserved

Developed by: Abritti Media